
काठमाण्डौं । चालू आर्थिक वर्षको बजेट वक्तव्य र मौद्रिक नीतिमा उल्लेख भएबमोजिम गत माघ १० मा राष्ट्र बैंकले जारी गरेको ‘आर्थिक पुनरुद्धार कोष (स्थापना तथा सञ्चालन) कार्यविधि, २०७२’ अनुसार पुनरुद्धार कोषमा बैंक तथा वित्तीय संस्थाले २८ अर्ब ६० करोड ६० लाख रुपैयाँ संकलन गर्ने भएका छन् ।
२६ वाणिज्य बैंक, ९ विकास बैंक र २ वित्त कम्पनीबाट कोषमा हिजोबाट रकम संकलनको प्रतिबद्धता प्राप्त भए अनुसार वाणिज्य बंैंकले २७ अर्ब ३५ करोड, विकास बैंकले ७३ करोड १० लाख र वित्त कम्पनीले ५२ करोड ५० लाख संकलनको प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यविधिको निर्देशनअनुसार आफूले कोषमा जम्मा गर्न सक्ने रकमको प्रतिबद्धता पेस गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले एकमहिने समय दिएको थियो । फागुन १० मा एकमहिने समयावधि पूरा भएको छ ।
नेपाल सरकारमार्फत स्थापना हुने कोष राष्ट्र बैंैकले सञ्चालन गर्नेछ । कोषमार्फत असहज परिस्थितिका कारण कृषि, उद्योग, जलविद्युत् तथा पर्यटनलगायत अर्थतन्त्रका उत्पादनशील क्षेत्रमा परेको प्रतिकूल असर न्यूनीकरण गरी पीडितलाई ब्याज सहुलियत र पुनर्कर्जा सुविधा उपलब्ध गराइनेछ ।
१२ फागुन २०७२, ८.००
वि.सं.२०७२ फागुन १२ बुधवार ११:०७ मा प्रकाशित