
काठमाण्डौं । प्रहरीले छापा मारेर आफ्नो क्षेत्राधिकारको उल्लंघन गरेको भन्दै नेपाल वैदेशिक रोजगार व्यावसायी संघले राजधानीका सम्पूर्ण म्यानपावर कम्पनीहरु आजबाट अनिश्चितकालका लागि बन्द गरेकोछ । उपत्यकामा ६ सय २५ भन्दा बढी म्यानपावर कम्पनी छन्।
ठगी गरेको भन्दै महानगरीय अपराध महाशाखाले हिजो उपत्यकाका १८ वटा म्यानपावरमा छापा मारेर १४ जना म्यानपावर संचालकलाई पक्राउ गरेको थियो । यही घटनाको प्रतिकार स्वरुप वैदेशिक रोजगार व्यवसायी महासंघले आजबाट म्यानपावरका सम्पूर्ण कामकाज ठप्प पारेको हो ।
आजबाट म्यानपावर बन्द भएपनि भिसा आएर विदेश जान ठिक्क परेकाहरुलाई सात दिनभित्र उडाउन पनि महासंघले सबैसंग आग्रह गरेको छ ।
वैदेशिक रोजगारका नाममा मानव बेचबिखन, ठगी, विदेश जाने कामदारको बिचल्ली भएपछि छापा मारिएको प्रहरीले जनाएकोछ । पहिलो चरणमा आज १८ वटा म्यानपावरमाथि अप्रेसन चलाइएको भन्दै उनले बाँकी म्यानपावरहरुमा पनि अप्रेसन चलाइने बताए । पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीको उजुरी परेपछि महाशाखाले ११७७ नम्बरको हटलाइनसमेत सुरु गरेको छ ।
फागुन १३, २०७२, १२.००
वि.सं.२०७२ फागुन १३ बिहीवार १२:२४ मा प्रकाशित