‘मैले त्यो बेला खाएको प्रहरीको पिटाईका कारण यी हेर्नुस् मेरा खुट्टा सग्ला छैनन्, एकछिन् बसेपछि दुख्न र पोल्न थाल्छ, म देव्रे कान सुन्दिन ।’ सिंहदरबारस्थितपर्यटन मन्त्रालयको आफ्नै कार्यकक्षमा पर्यटन मन्त्री आनन्द पोखरेलले भावुकहुँदै भने काठमाडौँमा सुरुमा साह्रै दुःख पाइयो । आफ्नो कोही थिएन । पेट भर्न एक जना पर्यटन व्यवसायीको कार्यलयमा स्वीपरको काम गरेँ’ उनले आफ्ना विगत वृतान्त खोले ‘पत्याउनुहुन्नहोला मैले एक गिलास दुध र आधा पाउरोटीले धेरै दिनहरु गुजारेको छु ।’
उनी सरल र हँसिलो स्वभावका छन् । मन्त्रालयलमा आएका जनता र कार्यकतालाई सम्मान पुर्वक सम्बोधन गर्छन् । उनीहरुको कुरा सुनेर, चित्त बुझाएर पठाउँछन् ।
प्रस्तुत छ अर्थतन्त्रका लागि पत्रकार नवराजकुँवरले मन्त्री पोखरेलसंग गरेको अन्तरंग कुराकानी ।
म दोलखाको जफे ३ लप्से भन्ने एउटा विकट गाउँमा २०१६ सालमा जन्मिएको हुँ । मेरो बुवा इन्द्रप्रसाद र आमा नम्रता पोखरेल हो । हामी दुई जना दाजुभाईमा म जेठो हुँ । मेरो बुवा सामान्य किसान हुनुहुन्थ्यो । घरको आर्थिक अवस्था पनि सामान्य थियो । खानै नपुग्ने नाजुक पनि थिएन र खाएर उब्रिने पनि थिएन । आफ्नो गाउँमा विद्यालय थिएन । त्यसैले मैले थाहा पाउँदादेखि म चार घण्टाको दुरीमा रहेको विद्यालय नाम्दु माविमा पढ्थेँ । पढाईसंगै घाँस दाउरा पनि गरिन्थ्यो । गाउँ विकट थियो । विद्यालय पढ्न जान पनि टाढा भएको कारणले मसंगैका केही साथीहरु पढ्नबाट बञ्चित पनि भए । म पनि पढ्नमा अल्छि–अल्छि नै थिएँ । घरबाट पढ्न हिँडे पनि कहिलेकाहीँ स्कुलै जान्नथेँ । बाल्यकाल त्यस्तै त हो ।
५ कक्षामा पढाई छाडेँ
२०२७ सालमा पाँच कक्षामा पुगेपछि खै के झ्वाक चल्यो मैले पढ्नै छाडेँ । एक वर्ष घरमै बसेर घाँस दाउरा र गाइवस्तु चराएँ । ११ वर्षको थिएँ, मैले त्यो वर्ष पूर्ण रुपमा कृषिका कामहरु गरेँ । पछि आफैले पनि सोचेँ, बुवाआमाले पनि भन्नुभयो र मैले फेरि पाँच कक्षाबाटै पढ्न सुरु गरे । त्यतिबेला अहिलेको जस्तो विद्यालयमा मैलो धैलो लुगा लगाए कारबाहीको व्यवस्था पनि थिएन । त्यसैले प्राय सबै उस्तै नै हुन्थे ।
७ कक्षामा अखिलका नेताले झण्डा बोकाइदिए
२०२९ सालमाम सातकक्षामा पढ्दा मलाई कृष्णप्रसाद दाहालले स्ववियुको झण्डा बोकाइदिनुभयो । उहाँ त्यतिबेला अखिलको नेता हुनुहुन्थ्यो । म पनि अलि विद्रोही स्वभावको थिएँ । त्यसैले मलाई कष्ण दाईले सायद आफूपट्टिनै तान्नुभाको हो ।
१४ वर्षमा विवाह भयो
२०३१ सालमा म ८ कक्षामा पढ्दा मेरो बिवाह भयो । म १४ वर्षको थिएँ । मसंग विवाह गर्ने मेरी श्रीमती त्यतिबेला १२ वर्षकि थिइन् । त्यतिबेला घरपरिवारबाट विवाह गरिदिने भनेपछि नाइनास्तीगर्नै पाइन्नथ्यो । तर सन्तानभने त्यसको १३ वर्षपछि मात्रै जन्माइयो ।
यसकारण माक्र्सवादी भएँ
२०३३ मा मैले दोश्रो श्रेणीमा एसएलसी उत्तिर्ण गरेँ । त्यसपछि म उच्च शिक्षाका लागि काठमाडौँ आउने बेला मेरा हजुरबुबा जगन्नाथ पोखरेलले भन्नुभयो, ‘केटा तँ बाहिर जाँदैछस् । छोरा मान्छेले ५२ घुस्सा ५३ ठक्कर खानुपर्छ जीवनमा अनिमात्र सफल भईन्छ त्यसैले जीवनमा झुठो नबोल्नु, चोरी नगर्नु, जुवातास नखेल्नु, जाँडरक्सि नखानु, वेश्याबृत्तिमा नलाग्नु र अरुलाई नठग्नु भन्ने ६ वटा अर्ति दिनुभयो । जब म काठमाडौँ आएँ । त्यसपछि भेट हुने माक्र्सवादी साथीहरुका कुरा हामीलाई दिइने प्रशिक्षण, खासगरी अनुशासनका कुराहरुमा हजुरबुबाको अर्ति ठ्याक्कै मिल्यो । त्यसपछि म झन् कट्टर माक्र्सवादी भएँ । मेरो परिवारको पृष्ठभूमि राजनीति हैन कृषिहो । म हजुरबुवाकै आदर्श अनुसार माक्र्सवादी भएँ र मेरो राजनीतिक गुरु पनि मेरा हजुरबुबा नै हो । किनकी म उहाँकै अर्तिका कारण माक्र्सवादी भएको हुँ ।
मैले काठमाडौँमा ट्राभल एजेन्सीमा स्वीपरको काम गरेँ
२०३४ सालमा म काठमाडौँ आएँ । त्यतिबेला म मेडिसिन पढ्ने विचारमा आएको थिएँ । त्यसैले मैले महाराजगञ्जमा रहेको मेडिसिन क्याम्पसमा इन्ट्रान्स दिएँ । तर नाम निस्केन । काठमाडौँमा बस्न एकदमै दुःख थियो । घरको अवस्था सामान्य थियो । म एसएलसी सकिसकेको भएकाले त्यतिबेला घरबाट पैसा माग्ने कुरा पनि थिएन । त्यसपछि मैले कान्तीपथमा रहेको एउटा ट्राभल एजेन्सीमा स्वीपर (सरसफाई गर्ने) कामगरेँ । पेटको लागि जे पनि गर्नुपर्दोरहेछ । घरमा जस्तो कहाँ हुदोरहेछ र शहरमा ! शनिबार बाहिरपट्टिबाट झ्याल पुछ्नुपथ्यार्,े त्यो गर्दाचाहिँ देख्नेहरुले केही भन्छन्की जस्तो लाग्थ्यो । तर मेरो त्यो जागिर थियो जसरी पनि गर्नैैपर्ने ।
पाउरोटी र चियाको भरमा धेरै दिनगुँजारेँ
अहिले म मन्त्री छु, गार्ड सहयोगी, सुरक्षा सबै थोक छ । तर म हिँजोका ती दिनहरु सम्झन्छु आज पनि कता–कता दुखेर आउँछ । काष्ठमण्डप अगाडीको गणेशस्थानमा पन्ना पाउरोटी भन्ने पसल थियो । त्यो पसलमा त्यतिबेला ५० पैसामा आधा पाउरोटी र ७५ पैसाको १ गिलास दुधमात्रै खाएर मैले धेरै दिनहरु गुजारेँ । आजपनि म त्यो बाटो हिँड्दा, त्यस दिन सम्झन्छु । त्यो पसल त अहिले छैन । तर दुःखमा बचाएर होला मलाई त्यो दूध र पाउरोटी सार्है मिठो लाग्छ ।
सोल्टी होटलमा वेटर गरेँ
२०३४ सालमा मैले केही महिना स्वीपर गरेपछि सोल्टी होटेलमा वेटर सरहको कामपाएँ । त्यसपछि दुःखबाट अलिकति छुट्कारा पाएजस्तो लाग्यो । त्यता काम गर्दैगर्दा खुमलटारमा म जेटिए तालिम पनि गर्थेँ । त्यतिबेला जेटिए पढ्नेहरुमा उत्कृष्ट ५ जनालाई रामपुर क्याम्पसमा पढ्न जाने अवसर मिल्थ्यो । त्यो अवसर मैले पाएँ र ०३५ सालबाट म चितवनको रामपुर क्याम्पसमा कृषि पढ्न थालेँ ।
सोल्टी होटेलबाट केहीकमाएको थिएँ । त्यो पैसा पनि थियो संगै १५० जनाको कोटामा परेकाले त्यसपछि खासै धेरै दुःख झेल्नुपरेन ।
त्यतिबेला खाएको पिटाइले आज म एउटा कान सुन्दिन, खुट्टा अझै पोल्छ
म कृषि अध्ययन पछि जिरिको जिरी माध्यामिक विद्यालयमा पढाउँथे । २०३७ साल कात्तिकमा अनेरास्ववियुको अधिवेशन थियो । हामीले त्यतिबेला जनकपुर अपरेसनको अभियान पनि चलाईरहेका थियौँ । त्यतिबेलै फेरि विद्यार्थीले प्रहरीमाथी हातपात गरे । को–को हुन त नेता भनेर प्रहरीले खोजि गर्यो । त्यहि दिन सहकर्मीहरु नीरबहादुर खड्का र सुमन जिरेललाई पक्राउ गरियो र म त्यसको भोलिपल्ट पक्राउ परेँ । त्यही दिन मैले धेरै पिटाई खाएँ । त्यो पिटाईले आज म देव्रे कान सुन्दिन । मेरो पैतालामा धेरै लठ्ठी वर्साए । जसका कारण आजपनि मेरो खुट्टा सग्ला छैनन् । धेरैबेर बसिसकेपछि मेरो खुट्टामा कुटिएका ती भाग पोल्न थाल्छन् र आजपनि पिडा हुन्छ । म पक्राउ परेको खबर हजुरबुबाले थाहा पाउनेवित्तिकै उहाँ बेहोस् हुनुभएछ र फेरी बौरिनुभएन । त्यो वर्ष मैले छात्रबृत्तिमा कोलम्बो पढ्नजाने अवसर पनि पाएको थिएँ । तर जेल परेका कारण मैले त्यो अवसर गुमाउनु पर्यो ।
जेलमै बसेर आइएसी पास गरेँ
जेलमा पु¥याएपछि भने यातना दिएनन् । जेलपुगेपछि पढ्नतिरै लागियो । मैले जेलमै बसिबसि आइएसीपास गरेँ ।
जेल पछि प्रधानपञ्च भएँ, खेतीपाती गरेर जीवन चलाएँ
म कृषि पढेकाले त्यतिबेला गाउँमा कसैको गाईबस्तु विरामी हुँदा म गएर उपचार गरिदिने सरसल्लाह दिने गर्थेँ । पढेलेखेको भनेर होला गाउँलेहरुकै सहयोगमा म ४३ सालदेखि ४६ सालसम्म प्रधानपञ्च भएँ । त्यतिबेला गाउँमा रहँदा मैले भैँसी पालेँ, खेती गरेँ । प्रधानपञ्च हुँदाताका सम्पूर्ण खर्च मैले खेतीपातीबाट निकाल्थेँ । कृषि पढेकाले सबै काम म आफै लागि परेर गर्थेँ । त्यसबेलादेखि राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनहरुमा लागियो । समाजसेवाको यात्रालाई गतिशिल पारियो । पढाईमा पनि सफलता हाँसिल गरियो ।
दुई विषयमा डिग्री
सानामा पढ्न अल्छि गरेपनि मैले पछि पढ्ने कुरालाई प्राथमिकता दिएँ । राजनीति र पढाईको तालमेल मिलाउन कठीन पथ्र्यो तर पनि मैले मिलाएर अघि बढेँ । फलस्वरुपआज मैले समाजशास्त्र र मानविकीमा एमए गरेँ । विएससिएजी, विएल पनि गरेको छु ।
पहिलोपटक मन्त्री भएपछि
त्यही क्षेत्रबाट भएका संसदीय निर्वाचनमा दुई पटा जितें दुई पटक नै जितें । आज म पर्यटन मन्त्री छु । मलाई जनताको काम डाडुपनिउ लिएरै गर्न पाउने अवसर मिलेको छ । योबेला म जनताकै लागिमात्र सोच्छु । जनताकै काममा खट्छु । बिहान ८ बजेदेखि राती ८ बजेसम्म म मन्त्रालय र जनताका काममा खट्टिन्छु । हिजोको त्यो बेरोजगार र दुःखपाएको आनन्द पोखरेल भएर सोच्छु, जनताका छोराछोरीले त्यस्तै दिन भोग्नु नपरोस् भन्ने कामना गर्छु र सकेसम्म म बढी जनताकै कामगर्न लागि परेको छु ।
दुई वर्षभित्र मन्त्रालयको काम व्यवहारतः देखिन्छन्
मेरो मन्त्रालयको कार्यक्रमहरु दुई वर्ष भित्रमा व्यवहारतः देखिनेछन् । यो देशमा नीति नराम्रो भएर हैन कार्यान्वयन पाटो कमजोर भएर चाहिँ धेरै कुरा अड्कीएका छन् । यसमा कर्मचारीहरुको भूमिकामुख्य हुन्छ । मन्त्री त आज एउटा भोली अर्को हुन सक्छ तर कर्मचारीहरु लामो समयसम्म मन्त्रालय तथा सम्बन्धित निकायमा रहन्छन् । उनीहरुले जनताका पक्षमा सोचेर मन्त्रीहरुका पालामा आएका नीति तथा कार्यक्रमहरु लागु गर्नुपर्छ ।
हवाई क्षेत्रको प्रतिबन्धमा पनि दुई वर्ष भित्र क्लिन चिट लिने
२०१३ मा युरोपियन युनियनले नेपाललाई हवाई प्रतिबन्ध लगायो भनिन्छ तर युरोपियन युनियनले आफु अन्तर्गत रहेको राष्ट्रको हवाई सुरक्षा कमजोर छ भनेर दिएको सुधारात्मक सुझावलाई म कालो सूची भन्न चाहान्न तर उसको त्यो सुझाव मानेर नेपालको हवाई सुरक्षाको सवालमा बलियो पारेर दुई वर्ष भित्रमा इयूको क्लिनचिट लिनेगरी कामगर्नेछु ।
१७ फागुन २०७२ / १०:१२
वि.सं.२०७२ फागुन १७ सोमवार ११:४९ मा प्रकाशित