
विदेश जाने प्रयासमा निकै दिन भौतारिएका प्रकाश पाण्डे आज विदेश पढ्न जाने विद्यार्थीहरुलाई परामर्श दिने परामर्शदाता संस्थाहरुको संगठन नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष छन् । विदेश जाने मन भए पनि परिवारको आर्थिक क्षमत कमजोर भएका कारण रोकिएको बताउने पाण्डे कसरी इक्यानको अध्यक्षजस्तो गरिमामय स्थानसम्म आईपुगे त ? प्रस्तुत छ, अर्थतन्त्रका लागि पत्रकार नवराज कुँवरले पाण्डेसंग गरेको कुराकानीको अंश ।
धादिङ जिल्लाको गजुरी ८ मा जन्मिएका प्रकाश पाण्डेले बाल्यकालमा राजनीतिक गतिविधिका कारण जेल बसेका आफ्ना बुवा राजेन्द्र पाण्डेसंग खासै समय विताउन पाएनन् । २०४६ सालमा उनी भर्खरै छ वर्षका थिए । भर्खरै बोली फुटेका प्रकाशलाई त्यतिबेला बुवाको काखमा बसेर साना–साना विषयमा अनेक प्रश्न गर्न मन लाग्थ्यो । उनी आकाशको तारालाई चोरी औँलाले देखाएर बुवालाई त्यसको बारेमा अनेक प्रश्न गर्न पाए हुन्थ्यो भन्ने चाहान्थे । तर बुवा राजनीतिमा सक्रिय भएकाले तत्कालिन सरकारले प्रकाशको बुवालाई कैद गरेको थियो ।
विदेश जाने मन थियो, घरको आर्थिक अवस्था कमजोर थियो
पटक–पटक जेल जीवन विताएका उनका बुवा २०४८ सालमा सांसदमा निर्वाचीत भए । त्यसपछि २०५० सालमा प्रकाश पढाईकै शिलशिलामा १० वर्षको हुँदा बुवासंग काठमाडौँ आए । २०५५ सालमा एसएलसी सकेपछि उनले विश्व निकेतनमा प्रविणता प्रमाणपत्रतह पनि उत्तिर्ण गरे । त्यसपछि उनलाई युरोपियन मूलुक पढ्न जान खुब मन थियो । तर घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको त्यो चाहाना पूरा भएन । उनलाई दुःख त लाग्यो नै तर दुःख लाग्यो भन्दैमा नेपालमै गर्नुपर्ने पढाईलाई विट मार्न उनले चाहेनन् र शंकरदेव क्याम्पसमा भर्ना भए ।
विदेशमा पढिरहेका साथीहरुले रुँदै फोन गर्थे
उनी क्याम्पस पढ्दै गर्दा विदेशमा रहेका साथीहरुले उनलाई फोनमार्फत, पत्रमार्फत दुःख पाएको कुराहरु सुनाउथे । त्यो सुनेर प्रकाश दुखि हुन्थे । अनि सोच्थे विदेश जानुपूर्व नै विद्यार्थीहरुलाई राम्रो सल्लाह सुझाव दिने संस्थाहरु प्रभावकारी भए उनीहरुले दुःख पाउने थिएनन् होला । धेरै दिन उनले यो कुरा मनमा खेलाए । क्याम्पस पढ्दै गर्दा पनि विद्यार्थीहरुले गर्ने सामूहिक कार्यक्रमहरु अगाडी बढाउन उनले भूमिका खेल्ने गरेका थिए । क्याम्पस लेभलमै साथीहरुले विदेश पढ्न जानुअघि प्रकट गर्ने गरेको अन्यौलताले उनलाई पटक पटक झस्क्याउँथ्यो ।
यसरी आए इक्यानमा प्रकाश
घर छाडेर सात समुद्र पारी जानुपर्नेछ तर त्यहाँ गएर के गर्ने, त्यहाँको अवस्था के छ ? कसरी त्यहाँ समायोजन हुनेलगायतका विषयमा अन्यौल हुँदै जाँदा दुःख पाउनेहरुहरुको संख्या बढ्दै थियो । उनले इन्टरनेटमार्फत साथीहरुसंग कुरा गर्दा कतिपय साथीहरु रुन्थे । यो कुरा उनलाई सह्य भएन र उनले उतिबेलै सन् २००५ मा पातलो मात्रामा फाट्टफुट्ट रहेका केही परामर्शदाता निकायहरुका माझमा साथीहरुसंग मिलेर ब्रिलियन्ट एजुकेशनका नाममा एउटा परामर्श दिने संस्था खोले । त्यहाँबाट उनले विदेश जान चाहने विद्यार्थीहरुको अन्यौललाई सम्बोधन गरिदिने र उचित मार्गनिर्देश गर्ने काममा सहभागीता जनाए ।
प्रकाश दुइ चार जनालाई मात्र विदेश अध्ययनका क्रममा त्यहाँको अवस्थाबारे जानकारी दिएर पार नलाग्ने निर्णयमा पुगे र उनले नेपालभरिबाट विदेश पढ्न जान चाहने विद्यार्थीहरुलाई नै विदेश जानुपूर्व सम्पूर्ण अन्यौलबाट मुक्त गराउने यात्रामा निस्के । त्यसपछि उनले फेरी सन् २००७ देखि आफैले मेट्स एजुकेशन प्रा.ली भन्ने परामर्श केन्द्र खोले र परामर्शदाता निकायहरुको संगठन नेपाल शैक्षिक परामर्श संघमा समेत आवद्धता जनाए ।
छोटो समयमै केन्द्रीय नेतृत्व संहाले
राम्रो नेतृत्व क्षमता भएका प्रकाश सन २००९ देखि उनी संघको केन्द्रीय समितिमै पुगे । ३ सय २९ वटा परामर्शदाता संस्थाहरुको केन्द्रीय समितिमा पुगेका उनको काम र शैलीप्रति विद्यार्थीहरु त सुन्तष्ट भए नै ती संस्थाहरुले पनि उनलाई केन्द्रीय नेतृत्वमै पु¥याए ।
गतवर्ष संघको प्रथम उपाध्यक्ष रहेका प्रकाश यही साता भएका अधिवेशनबाट संघको गरिमामय पद अध्यक्षमा निर्वाचित भएका छन् ।
आफु विदेश पढ्न आर्थिक अवस्था कमजोर भएकाले सकिन तर जानेले दुःख नपाउन्
म त त्यतिबेला आर्थिक अवस्थाका कारण विदेश जान पाइन तर आर्थिक अवस्था र क्षमता भएर पनि विदेश जान चाहानेले त्यहाँ पुगेपछि दुःख नपाउन्, यो मेरो चाहना हो । उनले भने, अब म हाम्रो देशका कुनै पनि विद्यार्थीले परामर्शको अभावमा अध्ययनका लागि विदेश गएर दुःख पाउनुपर्ने वेथितिको अन्त्य गरिदिन्छु ।
कन्सल्टेन्सीमा व्याप्त बेतिथिको अन्त्य गर्ने अभियानमा
शैक्षिक परामर्श संघ अन्तर्गत रहेका शैक्षिक परामर्शदाता संस्थाहरुमा पछिल्लो समय केही विकृतिहरु फस्टाए भन्ने आरोप लाग्ने गरेको छ, त्यसलाई म हल गर्नेछु । हामी खाली व्यवसायमात्रै गरिरहेका छैनौँ, हामी सामाजीक सेवा र राष्ट्रको अर्थतन्त्रमा टेवा पुग्ने काम पनि गरिरहेका छौँ भन्ने कुरा सबैलाई उदाहरणसहित देखाउने गरी काम गर्नेछु । मलाई आशा छ, मेरो यो काममा सबै साथीहरुले साथ सहयोग दिनुहुनेछ ।
कन्सल्टेन्सीमा जानेहरुले बुझ्नुपर्ने कुरा
प्रकाशका अनुसार विदेश जान चाहने विद्यार्थीलाई त्यो देशको नियम, भिसा प्रक्रिया, अध्ययन, विश्व विद्यालय, भर्ना प्रक्रिया लगायतका विषयमा परामर्श दिएर सहयोग गरेबापत कन्सल्टेन्सीहरुले १ हजार डलरसम्म लिन पाउने छन् । कुनै पनि कन्सल्टेन्सीले संघको बद्नाम हुनेगरी रकम असुल्ने छैनन् मलाई विश्वास छ उनले भने । यदी त्यस्तो भयो भने उनीहरुले कारबाही भोग्नुपर्ने हुन्छ । म चाहन्छु, विद्यार्थीहरुले पनि कन्सल्टेन्सीलाई एउटा भरपर्दो परामर्शदाता संस्थाका रुपमा चिनुन् । हाम्रो परामर्श र सहयोग पाएर विदेश गएका विद्यार्थीहरुले शिक्षा हासिल गरेर देश फर्किंदा देशमा दक्ष जनशक्ति त पैदा भईरहेका छन् नै पढाईसंगै उनीहरुले कमाएर पठाएको विप्रेषणले नेपाली अर्थतन्त्रलाई समेत सहयोग पु¥याएको छ । परामर्श लिन जानेहरुले पनि यी कुराप्रति सचेत रहनुपर्छ ।
१८ फागुन २०७२ / १० : १५
वि.सं.२०७२ फागुन १८ मंगलवार १०:४५ मा प्रकाशित