
काठमाण्डौं । भूकम्पका कारण क्षति भएका घर पुनर्निर्माणमा सहयोग पुर्याउन सरकारले इन्जिनियर सहित झण्डै २६ सय जना प्राविधिक जनशक्ति माग गरेको छ।
शहरी विकास तथा भवन निर्माण बिभागले शुक्रबार सूचना प्रकाशित गरी आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका लागि केन्द्र र जिल्ला स्तरमा काम गर्ने इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर गरी २५ सय ७१ जना माग गरेको हो। जसमध्ये १३ सय ४६ जना इन्जिनियर, ६ सय ५० जना सब इन्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट सब इन्जिनियर माग गरिएको छ।
यी इन्जिनियरहरुले सरकारी अनुदान लिएर बनाइने निजी भवनको प्राविधिक जाँच र प्रमाणीकरणको काम गर्ने बिभागले जनाएको छ।
इच्छुक इन्जिनियरले १५ दिनभित्र शहरी विकास तथा भवन निर्माण बिभागको वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन्। इन्जिनियरका लागि सिभिल इन्जिनियरिङ वा आर्किटेक्चरमा कम्तीमा स्नातक तह उतीर्ण गरी नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको हुनुपर्नेछ। त्यस्तै सब इन्जिनियरका लागि सिभिल इन्जिनियरिक वा आर्किटेक्चरमा डिप्लोमा वा प्रमाणपत्र उतीर्ण हुनुपर्नेछ। असिस्टेन्ट सब इन्जिनियरका लागि प्राविधिक शिक्षालयबाट टिप एसएलसी कोर्स उतीर्ण गरेको हुनुपर्नेछ। छनोठ हुन इन्जिनियरले अन्तर्वार्ता मात्र दिए पुग्नेछ।
५ चैत २०७२, १०.००
वि.सं.२०७२ चैत ५ शुक्रवार ११:०२ मा प्रकाशित