
काठमाण्डौं । जुम्लाको ताम्ती गाविसमा आमा समूहको सक्रियतामा एक हजार ४०० लिटर मदिरा नष्ट गरिएको छ ।
सदरमुकामबाट ३९ किलोमिटर दूरीमा रहेको ताम्ती गाविस वडा नं ७, ८ डुङ्ग्री र टोप्ला गाउँका स्थानीय आमा समूहले उक्त परिमाणको मदिरा नष्ट गरेका हुन्।
गाउँमा जुवातास र मदिराको बिगबिगी निकै बढ्न थालेपछि त्यसलाई नियन्त्रण गर्न प्रहरीको समन्वयमा महिलाले मदिरा नष्ट गरेको कालिका मावि टोप्लाका प्रधानाध्यापक मानबहादुर शाहीले बताए। मदिराले ल्याएको विकृतिलाई पूर्णरुपले समाप्त पार्न गत फागुन २५ देखि यही चैत ७ गतेसम्म घ्याम्पो फोर्ने र त्यसपछि मदिरा निषेधित क्षेत्र घोषणा गर्ने अभियानको नेतृत्व महिला समूहले गरेको उनले बताए।
पुरुषको सबै समय जुवातास, मदिरामा बर्बाद हुने, घरमा सिर्जित कलह र घरायसी झगडाले घरेलु हिंसा बढ्न थाले, यही कुरालाई मनन् गर्दै मदिरा नष्ट गर्ने अभियानमा लाग्यौं, कैलाश नागरिक सचेतना केन्द्रका अध्यक्ष कृष्णदेवी शाहीले भनिन्।,
आमा समुहले नेतृत्व गरेको अभियानले ३५ लिटरका ४० ड्रम मदिरा र २१ थान रक्सी बनाउने भाँडा जफत गरी नष्ट पारेको अस्थायी प्रहरी चौकी ताम्तीका प्रहरी हवल्दार बीरबहादुर शाहीले जानकारी दिए। रासस
वि.सं.२०७२ चैत ६ शनिवार १५:०१ मा प्रकाशित