
गुल्मी । नेकपा एमालेका सचिव एवं पूर्व पर्यटन मन्त्री प्रदिप ज्ञवालीले लुम्बिनी विकासका केहि तस्विरहरु सार्वजनिक गर्दै दश वर्षे योजना बनाएर पर्यटनको विकासमा लाग्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
गुल्मी जिल्लाको पर्यटन विकासका सम्भावना, चुनौति र प्रयासहरु विषयक कार्यक्रममा पूर्व पर्यटन मन्त्री ज्ञवालीले कमलको फूल र पात आकारको लुम्बिनी शहरको परिकल्पना सहित त्यस क्षेत्रको विकासबारे धारणा राखेका हुन् । सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल) र पर्यटन बोर्डको आयोजनामा लुम्बिनीदेखि स्वर्गद्धारीसम्मको फार्म ट्रिप अन्तर्गत आयोजित सो कार्यक्रममा ज्ञवालीले लुम्बिनीका भौतिक पूर्बाधारको विकासबारे चर्चा गरेका थिए ।
ज्ञवालीले भने,ʽसन् २०१८ मा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँछ । दिनमा ८ वटा अन्तर्राष्ट्रिय जहाज ओर्लन्छन् र ८ वटाले उडान भर्नेछन् । अहिलेको काठमाडौकै हाराहारीमा त्यहाँको फ्लो हुनेछ र त्यसको ५ वर्षपछि दैनिक ३० वटा जहाजहरु अपडाउन गरिरहन्छन् ।ʼ
त्यसपछि ठूलो संख्यामा बुद्धिष्ट तिर्थयात्रुहरु लुम्बिनी आउने र लुम्बिनीलाई लक्षित गरेर ठुलो कारोबार हुने बताए । त्यस्तै लुम्बिनीमै ६ लेनको सुपर हाइवे बन्दै गरेको उनले बताए ।
लुम्बिनी विकासको परिकल्पनाबारे स्पष्ट पार्दै कमलको फुलमा २० लाख पर्यटक अट्नसक्ने विश्वशान्ति शहरको विकास गरिने बताए । उनले भने,ʽकोरियाका एकजना प्रोफेशर हुनुहुन्छ क्वाप उहाँको सुन्दर परिकल्पना छ लुम्बिनीप्रति, त्यो हामी कसरी पूरा गर्छौं । असाध्यै ठूलो चुनौति छ । उहाँले लुम्बिनी विश्व शान्ति नगरको परिकल्पना गर्नुभाएको छ । बुद्ध धर्मका तीन शन्देश दिनेगरी अहिलेको लुम्बिनी विकास क्षेत्रले ओगटेको क्षेत्रलाई कमलको फूलको आकारमा डेढ दुई किलोमिटरमा ८ वटा साना साना बस्तीहरु बन्छन्, जहाँ प्रत्येक बस्तीमा ३० हजार मानिस बस्छन्, त्यस बाहिर कमलको पात आकारको शहरमा २० लाख मान्छे अट्ने विश्व शान्ति शहरको परिकल्पना छ । हामी त्यो दिशामा अगाडि बढ्छौं ।ʼ
त्यस्तै यो वर्षको बुद्धपूर्णिमा बिशेष हुनेपनि उनले बताए । हामी यो वर्ष बुद्ध पूर्णिमाका दिन संयुक्त राष्ट्रसंघका महासचिव वान्की मुन, चीनका राष्ट्रपति सि जिनपिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति लगायतलाई निम्तो गरी लुम्बिनीको नयाँ तरिकाले विकास अभियान संचालन गरिने पनि बताए ।
त्यस्तै भविष्यमा चीन र भारत जोड्ने कालीगण्डकी करिडोर आउँदो जेठसम्ममा निर्माण सम्पन्न हुनेपनि उनले जानकारी दिए । चीन सँग रेलमार्ग विस्तारको चरण अगाडि बढेको पनि उनले जानकारी दिए । उनले भने, ʽआउने १० वर्षभित्रमा कालिगण्डकीको किनारै किनार ठूला कन्टेनर बोकेर सुपर हाइवे अगाडि बढ्छ ।ʼ यी सबै विषयलाई मध्यनजर गर्दै गुल्मीको पर्यटनलाई अगाडि बढाउन उनले सुझाव दिए । समग्र गुरुयोजना र प्याकेज तयार गरि पर्यटनको विकासमा लाग्न उनले सबैलाई आग्रह गरेका थिए । प्रबद्र्धनको पाटोलाई सबैभन्दा बढि ख्याल गर्न पनि उनले स्थानीयलाई आग्रह गरे ।
कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी र सरोकार पक्षले गुल्मी जिल्लाको पर्यटकीय प्रोडक्टको प्रबद्र्धन लगायत यसको विकासका बारेमा धारणा राखेका थिए । सोट्टो नेपाल, नेपाल पत्रकार महासंघ गुल्मी, रेसुङगा नगरपालिका, रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समिति गुल्मीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।
हरिशरण न्यौपाने/रामेश्वर कार्की
९ चैत २०७२ / १:१४
वि.सं.२०७२ चैत ९ मंगलवार ०१:१५ मा प्रकाशित