
ताप्लेजुङ, १३ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पुनः द्वन्द्वपीडितको उजुरी लिने व्यवस्था गरेसँगै ताप्लेजुङमा एक साताको अवधिमा नै २३ वटा द्वन्द्वपीडितका उजुरी दर्ता भएका छन् ।
एक साताको अवधिमा दुई बेपत्तासहित २३ वटा उजुरी परेको स्थानीय शान्ति समितिको कार्यालयले जनाएको छ । समितिका अनुसार बेपत्ता दुई र बाँकी २१ वटा उजुरी घाइते, अपाङ्ग, विस्थापित, सम्पत्ति क्षति, अपहरण, हत्या र बलात्कारसम्बन्धी रहेका छन् । यसअघिको तुलनामा प्रचारप्रसारका कारण पनि उजुरीको सङ्ख्या बढेको कार्यालयले बताएको छ ।
यसअघि सङ्कलन भएको तथ्याङ्कअनुसार यस जिल्लामा सर्वसाधारणतर्फ मृतकका परिवार दुई सय, सेना र प्रहरीतर्फ १२ जना तथा बेपत्ताको सङ्ख्या छ रहेको छ ।
ताप्लेजुङमा मृतक र बेपत्तासहित सबै प्रकारका द्वन्द्वपीडित परिवारको सङ्ख्या ५०० भन्दा बढी रहेको स्थानीय शान्ति समितिका सदस्य–सचिव इक्साहाङ मेन्याङ्बोले बताए ।
विसं २०५२ फागुन १ देखि २०६३ मङ्सिर १ गतेसम्म भएको सशस्त्र द्वन्द्वको अवधिको मात्र उजुरी लिने बताएको आयोगले यही वैशाख ५ गतेबाट मुलुकभर एकैसाथ उजुरी सङ्कलन गरिरहेको छ ।
बेपत्ता पारिएका परिवारको उजुरी भने वैशाख २ गतेदेखि सङ्कलन भएको हो । बेपत्ता परिवारको जेठ मसान्तसम्म उजुरी लिने व्यवस्था मिलाइएको छ भने बेपत्ताबाहेकका द्वन्द्वपीडितको उजुरी भने असार २ गतेसम्म लिने व्यवस्था रहेको शान्ति समितिले जनाएको छ ।
वि.सं.२०७३ वैशाख १३ सोमवार १८:०५ मा प्रकाशित