
काठमाण्डौं । गत साता ५ अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नियमिततर्फ यो हालसम्मकै सबैभन्दा धेरै साप्ताहिक कारोबार हो।
अघिल्लो साताको तुलनामा यो साताको कारोबार रकम ६६ दशमलव ११ प्रतिशतले बढी हो। सातामा तीन दिन १ अर्ब रुपैयाँभन्दा धेरैको सेयर किनबेच भयो। मंगलबार १ अर्ब ७ करोड रुपैयाँको सेयर करोबार भएकामा बुधबार १ अर्ब १० करोड रुपैयाँ पुग्यो। बिहीबार कारोबार झनै बढेर १ अर्ब १८ करोड रुपैयाँ पुग्यो।
अघिल्ला साताहरू जस्तै यो साता पनि नेप्से परिसूचक उच्च अंकले बढ्यो। यो साता नेप्सेको वृद्धिदर ९ दशमलव २५ अंक रह्यो। अधिक तरलताका कारण ब्याजदर न्यून रहेको, राजनीतिक वित्तमा सुधारका संकेत देखिएको लगायत कारण सेयर बजार बढदो अवस्थामा छ।
यस्तै लगानीका अन्य विकल्प नहुनु पनि सेयर बजार वृद्धिको अर्को कारण बन्यो। नेप्सेमा २ सय ३२ कम्पनी सूचीकृत रहे पनि औसतमा १ सय ५० कम्पनीको मात्र सेयर कारोबार भयो। केही कम्पनीको सेयर कारोबार मर्जरलगायत विविध कारणले बन्द छ।
प्रकाशितः २०७३ जेठ १
वि.सं.२०७३ जेठ १ शनिवार १०:२३ मा प्रकाशित