
सन् २००६ मा एउटा किताब प्रकाशन भएको थियो, द परस्युट अफ ह्याप्पीनेस, अर्थात् खुशीको खोजी । यो किताब यति धेरै चर्चामा रह्यो कि हलिउडले यसलाई चलचित्र बनाउनका लागि वर्षदिन पनि पर्खिएन । यो किताब लगातार तीन वर्षसम्म १ नम्बरमा पर्न सफल रह्यो भने यो चलचित्रले पनि एकेडेमी अवार्ड जित्न सफल भयो । यो चलचित्र कुनै काल्पनिक कथामा आधारित थिएन, यो सत्य घटनामा आधारित थियो र वास्तविक जीवनमा आधारित थियो । क्रिस गार्डनरको जीवनमा आधारित यो चलचित्र अझै पनि धेरै मानिसका लागि प्रेरणाको स्रोत बन्न पुगेकोछ ।
च्लचित्रमा देखाइए जस्तै क्रिस गार्डनरको बाल्यकाल हिंसाले भरिपूर्ण थियो, उनी घरवारविहिन भएर हुर्किए, उनलाई उनकी श्रीमतीले छाडेर गएपछि उनी एकल अभिभावक बन्न पुगे, तर पनि उनले एउटा कुरा कहिल्यै छाडेनन्, खुशीको चाहना । र यस क्रममा उनले आफ्नो विगतलाई पनि कहिल्यै बिर्सिएनन् ।
सन् १९५४ मा अमेरिकामा जन्मिएका क्रिस गार्डनरको बाल्यकाल अत्यन्त दुःखद थियो । उनी जन्मँदा उनका बुवा लुसियाना राज्यमा थिए भने उनका सौतेनी बुवा उनकी आमालाई शारीरिक प्रताडन दिने गर्थे । उनका सौतेनी बाबुले एक पटक गार्डनरकी आमाले आफूलाई घरभित्रै जिउँदै जालउन लागेको बताएपछि उनकी आमा जेल परिन् । त्यसपछि क्रिस गार्डनको बाल्यकाल अनाथालयमा बित्यो । बाल्यकाल अत्यन्त तनावमा बिताएका गार्डनरले भविष्यमा आफूले कहिल्यै रक्सी नपिउने, महिलालाई कहिल्यै दुव्र्यवहार नगर्ने, घरेलु हिंसा, बाल हिंसा कहिल्यै नगर्ने प्रण गरेका थिए । किनकी यी कुराहरुबाट नै मानिसको जीवन बर्बाद भएको उनले नजिकबाट देखेका थिए र यी विषयहरुमा लागेमा असफलताले सधैं जगडिरहने उनलाई प्रष्ट थाहा थियो ।
बाल्यकाल पीडामा बिताएका क्रिस गार्डनको युवावस्था पनि दयनीय नै थियो । तर आफ्ना एक काकाको मद्दतले उनले युएस नेभी अफिसरहरुको साथमा सानो पोष्टमा काम गर्ने मौका पाए । त्यो काम उनले ४ वर्षसम्म गरे र सन् १९७४मा त्यहाँबाट बिदा भएर मेडिकल असिस्टेन्टको रुपमा काम गर्न थाले । उनको त्यतिबेलाको कमाई वर्षको ८ हजार डलर मात्र थियो । यसरी नै जिन्दगीको उतारचढाव सहित उनको जीवन अगाडि बढिरहेको थियो । त्यो क्रममा उनले विवाह गरे र उनको दुई बच्चा पनि जन्मिसकेका थिए ।
सन् १९८० को दशकमा गार्डनरले सन फ्रान्सिस्कोमा अत्यन्त दयनीय जीवन गुजारिरहेका थिए । उनी औषधिजन्य वस्तुहरु एकठाउँबाट अर्को ठाउँमा लैजाने काम गरेर आफ्नो जीविको पार्जन गरिरहेका थिए । एक दिन उनले रातो फेरारी चढेर आएको व्यक्तिलाई देखे जसले गर्दा उनी स्टक ब्रोकर बन्ने लक्ष्य लिए । त्यो व्यक्ति गाडी पार्क गर्ने ठाउँ खोजिरहेको थियो । गार्डनरले उसलाई यदि उसले के काम गर्छ र त्यस्तो राम्रो गाडी चढ्न कसरी सक्ने भयो भन्ने जवाफ दिएमा आफूले रोकिराखेको ठाउँ उसलाई गाडी पार्क गनदिने बताए । त्यो व्यक्ति एउटा सेयर दलाल थियो ।
गार्डनरसँग कलेजको डिग्री थिएन, न त उनीसँग पारिवारिक पृष्ठभूमि नै थियो न त वाईट कलर जवका लागि उनीसँग सामाजिक सम्बन्धहरु नै थियो । केही महिना सम्म उनले थुप्रै कम्पनीहरुको ढोका ढक्ढक्याए र अन्ततः उनले एउटा टे«निङ प्रोग्राम हात पारे जसले सेयरको बारेमा सम्पूर्ण जानकारी दिन्थ्यो । तर त्यो तालिममा खाना दिइन्थेन, न त भाडा नै दिन्थ्यो । त्यही समयमा उनकी श्रीमतीले उनलाई र उनको सानो दुई बच्चा एक दुई बच्चा एक छोरा र एक छोरीलाई छाडेर गइन् । तर पनि क्रिसले हिम्मत हारेनन्, उनी दिनमा कडा मेहेनत गर्ने गर्थे भने रातमा आफ्नो बच्चा र आफ्ना लागि खाना एवं वासस्थान खोज्ने काममा जुट्थे । जब कुनै दिन उनीहरु भाग्यमानी ठहरिन्थे त्यतिबेला उनीहरुले चर्चमा सुत्न पाउँथे हैन भने उनीहरु सववेको बाथरुममा सुत्ने गर्थे । जब त्यो तालिम सकियो, तब क्रिसले टे«निका रुपमा जागिर पाए ।
केही वर्ष त्यो कम्पनीमा काम गरेपछि उनले अर्को कम्पनीमा काम गर्ने मौका पाए । जहाँ उनी सबैभन्दा धेरै कमाउनेमा पर्न सफल भए । सन् १९८७ मा सिकागोमा उनले आफ्नै ब्रोकरएज फर्म खोले र नाम राखे गार्डनर रिज एण्ड कम्पनी । उनी अहिले त्यस कम्पनीका सिइओका रुपमा कार्यरत छन् ।
उनी आफ्नो दृढ इच्छा शक्तिको श्रेय आफ्नी आमालाई दिन्छन् । उनी सम्झन्छन् जब उनी सानो थिए, तब उनी टिभी हेरिरहेका थिए जहाँ बास्केटबल चलिरहेको थियो । त्यो कार्यक्रम चलाउने व्यक्तिले त्यतिबेला भने कि उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँसम्म कमाउन सक्छ । त्यतिबेला उनले ओहो एक लाख ! भने । त्यो कुरा पल्लो छेउमा बसेकी उनकी आमाले सुनिरहेकी थिइन् । उनले गार्डनरलाई हेर्दै भनिन्, छोरा यदि तिमीले चाह्यौ भने तिमीले पनि एक लाख डलर कमाउन सक्छौं । उनले जीवनमा जतिसुकै अप्ठ्यारो आउँदा पनि आमाको त्यो वचन बिर्सिएनन् । उनी झन्छन् मेरो पृष्ठभूमि जस्तो भए पनि मलाई तैले यति गर्नसक्छन् छोरा भनेर सानैदेखि आत्मविश्वास दिने मेरी आमा थिइन् ।
उनी आफ्ना बच्चाहरुलाई पनि त्यत्तिकै माया गर्छन् । आफ्नो पहिलो पुस्तक उत्कृष्ट भए पछि अहिले उनी दोस्रो पुस्तकको तयारीमा जुटेका छन् । कुनै बेला सडकमा सुत्ने उनी अहिले अमेरिकाका धनीहरुको लिष्टमा पर्न सफल छन् ।
– इरादा पहाडी, एजेन्सीको सहयोगमा ।
२० भदौ २०७३, ३.३०
वि.सं.२०७३ भदौ २० सोमवार १५:२६ मा प्रकाशित