
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक ४ गतेको लागि आह्वान गरेको विशेष साधारणसभा हुने भएको छ । पाटन उच्च अदालतले कार्तिक २ गते जारी गरेको अन्तरिम आदेश कात्तिक ३ गते (आज) खारेज गर्दै पूर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला गरिदिएको छ ।
महासंघको विधान संसोधन गर्नको लागि बोलाइएको उक्त विशेष साधारणासभा विधिसम्मत नभएको भन्दै महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार र महासंघका कार्यकारिणी सदस्य गोविन्द घिमिरेले विशेषसाधारण सभा रोक्न अन्तरिम आदेशको माग गर्दै अदालतमा उजुरी दर्ता गराएका थिए । उक्त उजुरी माथि सुनुवाई गर्दै उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाको प्रक्रिया यथास्थितिमा राख्न कात्तिक २ गते आदेश दिएको थियो ।
उच्च अदालतले हिजोको अन्तरिम आदेश खारेज गर्ने निर्णय गरको महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । उनले भने, ‘अन्तरिम आदेश खारेज भएको छ । भोली (४गते) को विशेष साभारणसभा हुन्छ ।’ मुरारकाले भने ।
महासंघको बिधान संसोधनका लागि बिहिबारको साधारण सभा डाकिएको हो। सभाले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने गरि विधानमा भएको संसोधन पारित गर्नेछ।
यो व्यवस्था महासंघको आगामी चुनावबाटै कार्यान्वयन हुने या अर्को चुनावबाट लागु गर्ने भन्नेमा त्यहाँ भित्रको दुई पक्षबीच विवाद रहँदै आएको छ। अध्यक्ष पशुपति मुरारका एवं अधिकांश पुर्व अध्यक्षहरु तत्कालै कार्यान्वयनमा लैजाने पक्षमा छन्।
विधान लागु भएपछि महासंघमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत कार्यसमितिको मात्र चुनाव हुन्छ। अध्यक्षमा भने वरिष्ठ उपाध्यक्ष स्वतः बढुवा हुनेछन्। संसोधित बिधान आगामी चुनावमै कार्यान्वयन भए भवानी राणा स्वतः अध्यक्ष बन्नेछिन्।
६ जना पूर्व अध्यक्ष विशेष साधारणमा सहभागि नहुने
यता नेपाल उद्योग वाणिज्य महासंघका ६ जना पूर्व अध्यक्षले कात्र्तिक ४ गते हुने विशेष साधारणमा सहभागि नहुने घोषणा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्दै उनीहरुले औपचारिक निमन्त्रणासमेत प्राप्त नभएको भन्दै विशेष साधारण–सभामा उपस्थित हुन नसक्ने व्यहोरा अवगत गराएका हुन् ।
पत्रमा पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पदम ज्योती, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ र कुशकुमार जोशीको हस्ताक्षर छ । पत्रमा विभिन्न माध्यमबाट विधान संशोधन गर्न विशेष साधारण–सभा हुन लागेको जानकारी प्राप्त भए पनि विधान संशोधन प्रक्रियामा पूर्वअध्यक्षको हैसियतले व्यक्तिगत र सामूहिकरुपमा राय/सुझाव लिने र छलफल गर्ने काम नभएको स्मरण गराइएको छ । पत्रमा ‘२०७३ कात्तिक ४ गते हुने विशेष साधारण–सभामा भाग लिन परम्परादेखि पूर्व अध्यक्षहरुलाई उपस्थितिका लागि निमन्त्रणा गरी आएकोमा यसपटक त्यस्तो कुनै निमन्त्रणा प्राप्त नभएकाले उपस्थित हुन असमर्थ भएको व्यहोरा विशेष साधारण–सभामा सुनाइदिनु भई जानकारी गराउन पनि अनुरोध गर्दछौं’ भनिएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ३
वि.सं.२०७३ कात्तिक ३ बुधवार १९:५६ मा प्रकाशित