
ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर बोक्ने जमनाको अन्त्य र घरघरमा पाइपबाट ग्यास पुर्याउने। ओलीले एक भाषणकाक्रममा पाईपबाटै घर–घरमा ग्याँस पुरयाईन्छ भने ।
यही विषयलाई धेरैले हावादारी भाषणको संज्ञा पनि दिए । ओलीलाई मजाकको पात्र बनाए । हास्यव्यङग्य हुन् या तीजका गीत सबैतिर यसैको चर्चा भयो । तर, ओलीले बाँडेका ती सपना साकार हुनेक्रममा देखिएको छ । शुक्रबार ललितपुर इमाडोलमा गरिएको एउटा परीक्षणले घरघरमा पाइप लाइनबाट ग्यास पुर्याउन असम्भव छैन भन्ने संकेत गरेको छ ।
यो काम कहिलेबाट सुरु हुन्छ, नेपालीको घरघरमा पुग्ला त भन्ने प्रश्न त छ । किनकि यस किसिमको योजना अहिलेसम्म कसैले पनि बनाएको छैन ।
शुक्रबार उद्योगमन्त्री नगीन्द्रराज जोशीले इमाडोल पुगेर पाइपलाइनबाट आएको ग्यास चुल्होमा बालेर देखाए ।
ललितपुरको इमाडोलस्थित ग्याँस कुवाबाट पाइपमा ग्याँस निकालेर चुलो बालिएको थियो । उपत्यका भित्रका भनिएको १४ वटा कुवामध्ये ब्लक नम्बर सीमा पर्ने इमाडोलको प्लान्टमा नेपाली इञ्जिनियरहरुले तयार पारेको कम्प्रेसर मेसिनले ग्यास निकालिएको हो ।
पछिल्लो तथ्यांक अनुसार जमिन मुनिबाट निकालीएको पदार्थमा ८५ प्रतिशत पानी र १५ प्रतिशत मिथेन ग्याँस पाइएको छ । यसअघि जापानी सहयोग नियोग (जाइका)ले सन १९७८ मा गरेको अध्ययनले भने ४० प्रतिशतसम्म ग्याँस रहेको प्रतिवेदन तयार पारेको थियो ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले एक महिना भित्रै टेकुको प्लान्टबाट समेत ग्याँस निकाल्ने बताए । ‘आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि आन्तरिक श्रोत तथा साधानको अधिकतम उपयोग गर्ने नीति अनुसार सरकार अघि बढेको छ, अब टेकु प्लान्टको काम पनि एक महिना भित्रै सम्पन्न हुन्छ’, मन्त्री जोशीले भने ।
खानी तथा भुगर्भ बिभागका महानिर्देशक राजेन्द्र खनालले विभागको बार्षिक कार्यक्रम अनुसार परिक्षणका रुपमा पाइपबाट ग्याँस निकालिएको बताए । अब बिशेष अध्ययनपछि व्यवसायीक रुपमा ग्याँस निकाल्न सम्भव छ वा छैन पत्ता लगाउने पनि बताए ।
कसरी निकालियो ग्याँस ?
गत बर्ष भारतले नाका बन्दी लगाएपछि सरकारले आत्मनिर्भर बन्ने भन्दै तत्कालिन तथा दिर्घकालिन सबै उपाय खोजेको थियो । जस अनुसार सोही अवधीमा इमाडोलमा ३५० मिटर खनेर वेल हालिएको थियो । सो वेलबाट मेसिनले पानी तानेर कम्प्रेसरमा राखिन्छ । कम्प्रेसरले ग्यसलाई पाइपको माध्यमबाट पठाउँछ भने पानीलाई बाहिर फालिदिन्छ ।
मोबाइल ग्याँस प्लान्ट
पुल्चोक इञ्जिनियरिङ कलेज, थापाथली इञ्जिनियरिङ कलेज, नास्ट र विभागका इञ्जिनियरहरुको संयुक्त प्रयासमा मोबाइल ग्यास प्लान्ट तयार पारिएको छ । प्लान्टलाई गुडाएर अन्यत्र समेत लैजान मिल्छ । त्यसका लागि १५ लाख रुपैंयाँ खर्च लागेको विभागका महानिर्देशक राजेन्द्र खनालले जानकारी दिए ।
२० हजार परिवारलाई ५० बर्षसम्म पुग्ने ग्याँस
जाइकाको एक अध्ययनले २० हजार परिवारलाई ५० वर्षसम्म उपभोग गर्न पुग्ने ग्याँस रहेको रिपोर्ट तयार पारेको थियो । तर पछिल्लो अध्ययनले भने पानीमा ग्याँसको मात्रा कम रहेको उल्लेख गरेको छ ।
पाइपबाट मात्रै उपभोग
मिथेन ग्यासलाई सिलिण्डरमा भरेर प्रयोग गर्न सकिन्न । यसलाई पाइपमार्फत घर घरमा पुर्याउनु पर्ने हुन्छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ५
वि.सं.२०७३ कात्तिक ५ शुक्रवार २०:५६ मा प्रकाशित