
काठमाडौ । जनता बैंक नेपालले त्रिबेणी बिकास बैंकलाई गाभ्ने भएको छ । यससम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच हस्ताक्षर भएको छ । मर्जपछि पनि बैंकको नाम, लोगो जनता बैंक नेपालकै हुने बताईएको छ ।
सञ्चालक समितिमा त्रिबेणी विकास बैंकबाट दुई जना प्रतिनिधि हुनेछन् । उच्च व्यवस्थापन समिति जनता बैंकको नै रहने छ । जतना बैंकका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालका अनुसार स्वाप रेसियो १ बराबर १ हुनेछ ।
यो मर्जसँगै जनता बैंकले ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजीको आधार तयार गरेको छ । दुबै बैंकले प्रस्ताव गरेको हकप्रद सेयर निष्काशन र बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ५० करोड रुपैयाँ हुने बैकले जनाएको छ ।
हाल जनता बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रुपैयाँ छ । यस बैंकले १ अर्ब ३ करोड रुपैयाँको हकप्रद सेयर निष्काशन आह्वान गरेको छ भने ४१ करोड रुपैयाँ बराबरको बोनस सेयर छ । हकप्रद र बोनस सेयर जोड्दा जनता बैंकको सेयर पुँजी ३ अर्ब ५० करोड रुपैयाँ हुनेछ ।
जनता बैंकसँग मर्ज हुँदा त्रिबेणी विकास बैंकको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । यस बैंकमा हाल चुक्ता पुँजी ८२ करोड रुपैयाँ छ । यस बैंकले पनि चुक्ता पूँजीमा ५० प्रतिशत अर्थाक ४१ करोड रुपैयाँको हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले करिव १५ करोड रुपैयाँ बराबरको बोनस दिने प्रस्ताव अगाडि बढाएको छ ।
यो मर्ज प्रकियापछि पुनः अर्को विकास बैंक एक्वाएर गर्ने रणनीतिमा जनता बैंक रहेको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १३
वि.सं.२०७३ कात्तिक १३ शनिवार १२:५२ मा प्रकाशित