
काठमाडौ । तपाई अनुमान गर्नुस् त तिहारको एक दिनमा कति माला खपत होला ? अनुमान कति मिल्छ कि मिल्दैन तर यो वर्षको तिहारमा मात्रै देशभर रु. ११ लाख बराबरको माला खपत हुने भएको छ । यो अघिल्लो वर्षको तुलनामा ३ लाख रुपैंयाले वृद्धि हुने भएको हो ।
गत वर्षको तिहारमा रु.आठ लाख बाराबरको मालाको कारोबार भएको थियो । जसमा नौ लाख माला नेपालमै उत्पादित फूलबाट बनेका माला हुनेछन् । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइन्छ ।
वार्षिक रुपमा करिव रु डेढ अर्बको फूलको कारोबार हुने गरेकामा तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कार्तिक महिनादेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।
प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नु परेपनि मखमली र गोदाबरी फूलमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अस्टे«लिया र मलेसियामा नेपालीको उल्लेख्य बसोबास भएकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यात हुने गरेको छ ।
नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यवसाय पछिल्लो समयमा फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी पाल्पा, धादिङ, चितवन र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म तथा नर्सरी विस्तार भइसकेको छ ।
यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल उत्पादन छ । व्यावसायिक रुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १४
वि.सं.२०७३ कात्तिक १५ सोमवार ०९:५५ मा प्रकाशित