
काठमाडौ । सुर्खेतमा प्रहरी चौकी माथि आक्रमण गरीएको र त्यहाँबाट लुटिएकामध्ये अधिकांश हतियार फेला परेको प्रहरीले जनाएको छ । सुर्खेतको आग्री गाविसमा रहेको देउली प्रहरी चौकीमा आक्रमण गरि लुटिएका दुई नाल थ्री नट थ्री राइफल, त्यसमा लाग्ने दुई सय राउन्ड गोली, एकथान चाइनिज पेस्तोल र गोली तथा हतकडी स्थानीय बासिन्दाको घरबाट भेटिएको प्रहरीले जनाएको छ । र अरु ५० राउन्ड गोली भेटिन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो देउली प्रहरी चौकीका जवान र रक्सी खाएका स्थानीय युवाबिच सामान्य भनाभन भएको बिषयलाई लिएर दुई सयजनाको संख्यामा गएका स्थानीय बासिन्दाले प्रहरी चौकी लुटेका थिए ।
चौकी लुटिएलगत्तै गाउँमा रातारात ठूलो संख्यामा प्रहरी परिचालन गरेर हतियार पत्ता लगाइएको र केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सुर्खेतका प्रहरी नायव महानिरिक्षक माधव नेपालले जानकारी दिए । ‘स्थानीय युवा एकदमै उग्र रहेछन्, यस्तो आपराधिक काममा संलग्न जो–कोहीलाई छोडिँदैन, सबैलाई कारबाही हुन्छ’ उनले भने ।
घटनाको अनुसन्धानको लागि प्रहरी उपरिक्षक मोहन कुमार आचार्यको नेतृत्वको टोली खटिएको पनि उनले जानकारी दिए ।
प्रकाशित मितिः २०७३ कार्तिक १७
वि.सं.२०७३ कात्तिक १७ बुधवार २१:०२ मा प्रकाशित