
काठमाण्डौं । आज मंसिर १ गतेदेखि पुस ५ गतेसम्म आवेदन दिने मिल्ने गरी जनता बैंकले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयरको बिक्री सुरु गरेको हो ।
गत कार्तिक १० गतेसम्म सेयर किनेर सेयरधनी भएकाहरुले जनताको हकप्रद भर्न पाइनेछन् । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ ।
यसको सेयर भर्नका लागि सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरीसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।
त्रिवेणी विकास बैंकसँग मर्जरमा जान लागेको यो बैंकको दुई अर्ब ६ करोड रूपैयाँ चुक्ता पुँजी रहेको छ । अब ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी तीन अर्ब नौ करोड रूपैयाँ पुग्नेछ ।
१ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर १ बुधवार १०:३० मा प्रकाशित