
काठमाण्डौं । सेयर बजार ऐतिहासिक उचाइबाट फर्किएको छ। १८८१ को उचाइबाट तल ओर्लिन थालेको सेयर बजारमा अहिले अलिकति ‘होल्ड’ भएर बस्ने प्रबृत्ति देखिएको छ।
आधारभुत र प्राविधिक हिसावले पनि बजार केही समय होल्ड भएर बस्ला जस्तो देखिन्छ। खासगरी तरलता, ब्याजदर र वाह्य कारणहरुले बजार झरेको हो। बजार लगातार झर्ने मात्र भन्ने हुँदैन। उच्च आजको दिनसम्म बजार करिव २२० अंकले ओर्लिएको छ। त्यसैले केही समय होल्ड हुन्छजस्तो लाग्छ।
ब्याजदर बृद्धिको कारणले पनि बजार झरेको हो। तर अहिले ब्याजदर सामान्य कारणमा परिणत भएको छ। थोरै बढेको ब्याजदरमा लगानीकर्ता अभ्यस्त भइसकेका छन्। बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले असोजसम्मको नतिजा राम्रो देखाएक छन्। बजारमा अलिअलि थपघट भनेको सामान्य प्रकृया हो। तर लङटर्ममा हेर्दा बजार केही समय होल्ड भएर बस्छजस्तो संकेत देखिएका छन्।
तैपनि बजार यसै हुन्छ भनेर घोषणा वा दावी गर्न भने सकिँदैन। बजारको मूड बुझ्न अर्को एक साता लाग्छ। यो एक सातामा बजारले समात्ने गतिले उसले कुन दिशालाई प्राथमिकता दिन्छ भन्ने करिब थाहा हुन्छ।
केही समय होल्ड भए पनि त्यसपछि बजार झर्ने दिशातिरै अगाडि वढ्छ भन्ने संकेत देखिएका छन्। त्यो भनेको एक डेढ बर्ष पछिको कुरा हो। १८८१ अंक पुगेको बजार १५०० अंकमा झर्छ भने त्यसलाई लगानीकर्ताले सामान्य रुपमा लिनु पर्छ।
ब्याजदरको अवस्था के हुन्छर ? सरकारले विकास निर्माणमा खर्च गरेर बजारमा कतिको तरलता प्रवाह गर्छरु यस्ता कुराहरुले बजारको दिशा निर्धारण गर्छन्। ब्याजदर पनि वढ्यो र तरलता पनि अभाव भयो भने बजार चाँडै नै ओरालो लाग्छ।
हैन अहिलेकै जस्तो सामान्य अवस्था रह्यो भने घट्नलाई केही समय लाग्छ। बजारलाई सकारात्मक प्रभाव पार्ने ठूलै घटना भए भने बजार केही वढ्ने संभावना पनि रहन्छ। तर, अहिलेको अवस्थालाई आधार मान्दा केही समयपछि वियरिस ट्रेण्डमा बजार जान्छजस्तो देखिन्छ।
पुँजी बजारमा नयाँ नयाँ कुरा पनि आइरहेको छन्। पुँजी बजारमा माग र आपुर्तिको सन्तुलन हेर्दा मागको मात्रा बढेजस्तो अवस्था पनि देखिएको छ। लगानीका लागि विभिन्न कोष आएका छन्। ग्लोबल आइएमइ क्यापिटलको पैसा बाँकी छ। एनएमबी र नबिलको पुरै पैसा बाँकी छ। एनआइबिएल क्यापिटलको पनि दोस्रो स्किम स्वीकृत भएर बसेको छ। लक्ष्मी क्यापिटलको तुरुन्तै आउँदैछ। सिद्धार्थको पनि तुरुन्तै आउँदैछ। पुरानै फन्डहरुसँग पनि केही पैसा छन्। एनआरएनलाई लगानी खुलाउन पहल गर्ने भन्ने कुरा पनि आएको छ। ती सबै कुरा हेर्दा माग पक्ष वलियो भएको देखिन्छ। माग पक्ष बलियो हुनु भनेको बजारलाई स्थिर राख्दै विस्तारै माथि लैजानु हो।
सँगसँगै आपुर्ति पनि वढिरहेको छ। पुँजी बृद्धिका कारण बजारमा सेयर धमाधम थपिइरहेका छन्। दैनिकजसो सेयर सुचिकृत भइरहेका छन्। हकप्रद पनि आइरहेको छ। वोनस वितरण पनि भइरहेको छ। त्यसैले अहिले बजार घट्नुको कारण आपूर्ति बढ्नु पनि हो। सेयर मूल्य अलिअली वढ्न थाल्यो कि ह्वार्रै बेच्ने आइहाल्छन्। यसले आपुर्ति वढि भएको देखाउँछ।
बोनस र हकप्रद सकिएपछि, माग पक्षमा भएका कोषका रकमहरु लगानी भइसकेपछि बजारले कसरी गति लिन्छ भनेर हेर्न बाँकी छ। त्यसबेला बजारले लिने बाटोले नै कता जान्छ भन्ने निर्धारण गर्छ।
तैपनि लगानीकर्ता डराइहाल्नु पर्ने अवस्था भने छैन। धेरै संस्थाले राम्रो नतिजा निकालिरहेका छन्। कम्पनी राम्रो हेरेर अलिक लामो समयका लागि लगानी गर्नु उपयुक्त देखिन्छ। तर मेरो विश्लेषणमा यसपालीको साइकलमा बुल भनेकै १८८१ अंक हो। प्राविधिक रुपमा पनि त्यही देखिन्छ। बजारले अहिले वियरिस ट्रेन्ड देखाएको छ।
बजारले अहिले ुलोजअर हाइज लोअर लोजु को अवस्थामा छ। यस्तो अवस्था दुई तीन पटक नै देखिइसकेकाले बजार १८८१ अंक पार गरेर अगाडि वढ्छ भन्ने मलाइ लाग्दैन। बजारलाई सकारात्मक प्रभाव पार्ने केही ठूलै कुरा परिवर्तन भयो भने अगाडि वढ्न पनि सक्ला। तर अहिलेको अवस्थामा बजारमा स्पष्ट वियरिस ट्रेन्ड देखिइसकेको छ।
– मेखबहादुर थापा, चार्टर्ड एकाउन्टेन्ट तथा एनआइबिएल क्यापिटलका महाप्रबन्धक
३ मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर ३ शुक्रवार १०:५४ मा प्रकाशित