
नेपाल स्टक एक्सचेन्जमा सेयर मूल्य थामिनसक्नु गरी घट्दा आज सोमबार दुई पटक सर्किट ब्रेक लगाउनु परेको थियो । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से तीन प्रतिशत अर्थात ४४ अंकले घटेर १४२५ मा झर्दा पहिलो सर्किट ब्रेक लगाउनु परेको थियो भने त्यसको १५ मिनेटपछि खुलेको बजारमा सेयर मूल्य झन् घट्ने क्रम तीब्र भएर १२ बजेर १२ मिनेटमा समग्र बजार चार प्रतिशत अर्थात ५९.८० अंकले बजार घटेपछि दोस्रो सर्किट ब्रेक लगाएर ३० मिनेटका लागि कारोबार रोक्नु परेको थियो । त्यस पछि बजार केही घटे पनि घट्ने क्रम कम भएर सुधारिएर गएको छ ।
नेपाल स्टक एक्सचेन्जले आईतबार तीब्र रुपमा सेयर बजार झरेपछि नआत्तिन लगानीकर्ताहरुलाई आग्रह गरेको थियो । सेयर बजार लगातार झर्दा लगानीकर्ताहरुको मनोवल कमजोर बनेको मौकामा चलाईएका अनेक हल्लाले बजारलाई थप घटाउन सहयोग गरेको देखिएको छ ।
यसरी दिनदिनै सेयर बजारमा आत्तिएर सेयर बेच्नेहरु बढेका कारण नेप्सेको घटाईमा अरु जोड परेको हो । सेयर बजार घट्यो भन्दैमा राम्रा कम्पनीको सेयर पनि घाटा खाएर बेच्नु झन् खतरनाक हुने जानकारहरु बताउँछन् । लगानीकर्ताहरुमा आत्मबल निकै कमजोर हुँदा बजारमा जत्ति मूल्यमा पाए पनि सेयर बेच्ने प्रबृत्ति ९फ्रि फल० को अबस्था देखिएको सेयर दलालहरु बताउँछन् ।
सेयर बजारमा तीब्र गिरावट आएर राम्रा कम्पनीको सेयर मूल्य धेरै तल आएपछि केही लगानीकर्ताहरु अब सेयर किन्ने सोचमा पुगेको देखिएको छ । सेयर दलालको कार्यालयहरुमा बुझ्दा अब बिस्तारै सेयर किन्नेहरु बढ्न थालेका र केही सामुहिक लगानी कोषहरुले पनि किन्ने संकेत दिएका बुझिन् आएको छ । सेयर किन्ने क्रम बढ्न थालेपछि कतिपय कम्पनीका सेयर बिक्रेताहरु मार्केट डेप्थबाट गायब भएको अबस्था छ ।
सेयर बजार धेरै घटेर मूल्य तल आएको बेला राम्रा कम्पनीको सेयर किनेर दीर्घकालीन लगानी गर्नु राम्रो कुरा हो । नयाँ लगानीकर्ताहरु पनि यसैगरी सेयर बजार धेरै घटेको बेला बजार प्रबेश गर्दा फाईदाजनक हुनसक्छ । तर जोखिमका पाटाहरु भने आफैले केलाएर लगानी गर्नु उत्तम विकल्प हो ।
१३ मंसिर २०७३, १।००
वि.सं.२०७३ मंसिर १३ सोमवार १४:३० मा प्रकाशित