
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले आफुले बजार सुधारका नियमित काम गरि रहेको हुँदा लगानीकर्तालाई हतोत्साहित नभइ लगानी गर्न आग्रह गरेको छ । अर्थतन्त्रका परिसूचकहरु सकारात्मक रहेको र अधिकांश सूचिकृत कम्पनीको कार्य सम्पादन सन्तोषजनक देखिएको हुँदा लगानीकर्ताले आत्तिनु पर्ने अवस्था नरहेको बोर्डको भनाइ छ।
बोर्डका प्रबक्ता निरज गिरीले सोमबार प्रेस बिज्ञप्ति जारी गरी बजारको हालको स्थितिलाई सूक्ष्मरुपले हेरिरहेको जनाएका छन् । सुधारका कैयन् कार्यक्रम चालु रहेको र सूचिकृत कम्पनी एवं मुलुकको अर्थतन्त्र पनि सहित दिशामा रहेको हुँदा लगानीकर्ताले हतोत्साहित हुनु नपर्ने बोर्डले ठम्याइ छ।
बास्तविक क्षेत्र (रियल सेक्टर)का कम्पनीले जारी पुँजीको १० प्रतिशत सार्वजनिक निष्कासन गर्नसक्ने, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय फाइनान्स कर्पोरेसन जस्ता संस्थाले स्थानीय मुद्रामा ऋणपत्र जारी गर्न पाउने लगायतका बजारलाई फाइदा पुर्याउने प्रावधान यसअघि नै गरि सकेको बोर्डले उल्लेख गरेको छ।
साथै प्राथमिक निस्कासनमा घरै बसिबसि अनलाइनबाट आवेदन दिने पाइने आश्वा प्रणाली पनि कार्यान्वयनको चरणमा रहेको बोर्डले जनाएको छ। बोर्डले नेप्सेलाई क्लियरिङ्ग बैंक थप्न तथा काठमाडौं उपत्यका बाहिर दलाल व्यवसायीहरुको शाखा विस्तार गर्ने वा दलाल व्यवसायी थप गरी क्षमता विस्तार गर्न पुनः निर्देशन दिएको स्पष्ट पारेको छ ।
यो साता सुरु देखिनै सेयर बजार ओरालो लागेपछि बोर्डले बिज्ञप्ति निकालेको लगानीकर्ताको मनोबल बढाउन खोजेको हो। पछिल्लो एक महिनामा बजार २०० अंकले घटि सकेको छ ।
२१ मंसिर २०७३, १०।३०
वि.सं.२०७३ मंसिर २१ मंगलवार १६:४९ मा प्रकाशित