
काठमाण्डौं । यो सिजनमा मात्र सरकारले ३ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। हिमाल आरोहणका चारमध्ये एक शरद मौसममा १४ सय भन्दा बढीबाट ३ करोड ९२ लाख रुपैयाँ सलामी दस्तुर उठाइएको प्रवक्ता ढकालले जानकारी दिए। त्यस्तै यही मौसममा एजेन्सी दस्तुरबापत ७९ लाख रुपैयाँ संकलन भएको उनले बताए।
विभागले हिमालहरुलाई ८ भागमा वर्गीकरण गरेर त्यही अनुसारको शुल्क निर्धारण गरेको छ। विदेशी र नेपाली नागरिकका लागि फरक फरक दस्तुर निर्धारण गरिएकोमा तीन वटा मौसमको लागि फरक फरक दर तोकिएको छ।
जसमा सबैभन्दा महँगो सगरमाथा आरोहणका लागि रहेको छ। जहाँ बसन्त मौसममा ११ हजार, शरदमा ५ हजार ५ सय, हिउँद र वर्षातमा २ हजार ७ सय अमेरिकी डलर तोकिएको छ। त्यस्तै अन्य सगरमाथा रुटमा ति सिजनमा क्रमशः १० हजार, ५ हजार र २५ सय अमेरिकी डलर निर्धारण गरिएको छ।
नेपालीको लागि सगरमाथा रुटको लागि बसन्त, शरद, हिउँद र वर्षातको लागि क्रमशः ७५ हजार, ३७ हजार ५ सय र १८ हजार २ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। ६ हजार मिटरभन्दा कम उचाईका हिमाल आरोहणका लागि पर्वतारोहण संघमार्फत त्यस्तो दस्तुर उठाउने गरिएको छ। ६ हजार ५ सय भन्दा कम उचाईका हिमाल आरोहण शुल्क बसन्त, शरद, हिउँद र वर्षातको लागि क्रमशः २ सय ५०, १ सय २५ र ७० अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। नेपाली नागरिकहरुको लागि भने रुपैयाँमा शुल्क लिने गरिएको छ।
गत आर्थिक वर्षका चार वटै मौसममा यस्तो हिमाल आरोहणबापत २५ करोड रुपैयाँ राजस्व उठेको थियो। यो बाहेक अन्य एजेन्सी तथा संघसंस्थाले उठाउने रकम छुट्टै हुन्छ। जसमा सबैभन्दा बढी बसन्त मौसममा राजश्व संकलन हुन्छ। गत वर्षमात्र उक्त मौसममा २१ करोड रुपैयाँ संकलन भएको थियो।
६ पुस २०७३, ३।३०
वि.सं.२०७३ पुस ६ बुधवार १५:११ मा प्रकाशित