
काठमाडौ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का द्धित्तिय उपाध्यक्ष रामप्रसाद सापकोटाले एक अनलाईनले टान कार्यसमिति र नेतृत्वको मानमर्दन गरी चरित्र हत्या गरेको भन्दै आक्रोश पोखेका छन् । उनले द्धित्तिय उपाध्यक्ष जस्तो पदको हवाला दिँदै फोटो समेत राखेर उक्त अनलाईनले गलत समाचार प्रकाशित गरी सिंगो टान कार्यसमिति र नेतृत्वको मानमर्दन गरी चरित्र हत्या गर्ने मनसायले कार्य गरेको विज्ञप्तीमार्फत उल्लेख गरेका छन् । विज्ञप्तीमार्फत उनले तथ्यमा आधारित भन्दा पनि व्यक्तिगत आग्रह पुर्वाग्रहले प्रेरित भ्रामक समाचार आफ्नो चर्चाका निम्ति गरिएको प्रोपोगाण्डाको एक नमूना पित पत्रकारिताबाट प्रेरित भएको समेत उल्लेख गरेका छन् ।
हेर्नुहोस्, टान द्धित्तिय उपाध्यक्ष सापकोटाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्णपाठ जस्ताको तस्तै :
प्रेस विज्ञप्ति
मिति २०७३ पुस ८
पदयात्रा व्यवसाय मार्फत नेपालको पर्यटन प्रवद्र्धन र व्यवसायीहरुको हकहितका लागि स्थापित ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पर्यटन क्षेत्रमा सबै भन्दा धेरै व्यवसायीहरु सदस्य रहेको छाता संगठन हो । नेपाल सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा पर्यटन प्रवद्र्धन, विकास र नीति निर्माणमा समेत टानले अग्रणी भुमिका निर्वाह गर्दै आएको सबैमा विदितै छ । संस्था आफैमा ठूलो कार्य क्षेत्र भएको र यसका सदस्यहरु पनि विभिन्न भूगोल, दर्शन, सिद्धान्त र विचारद्वारा निर्देशित हुने नै भए । त्यसैले संस्था र नेतृत्व तथा कार्यशैलीको टिका टिप्पणी सामाजिक सञ्जाल र सञ्चार माध्यममा आउनु स्वभाविक हो ।
तर, आज मिति २०७३ पुस ८ गते (तदअनुसार सन् २०१६ डिसेम्बर २३) मा हुन गइरहेको ३८ औं वार्षिक साधारण सभालाई जोडेर टानका विषयमा सन्दर्भहिन टिका टिप्पणी भएको पाइएको छ । व्यक्तिगत मनमुटाव, राजनीतिक, वैचारिक विषयलाई पनि संस्थासंग जोडेर आलोचनाको विषय बनाइएको पाइएको छ । यसै सन्दर्भमा म रामप्रसाद सापकोटा टानको द्धित्तिय उपाध्यक्षको हवाला दिँदै फोटो समेत राखेर गन्तव्यनेपालन्युज डटकम अनलाईनले समाचार प्रकाशित गरी सिंगो टान कार्यसमिति र नेतृत्वको मानमर्दन गरी चरित्र हत्या गर्ने मनसायले साधारण सभालाई अतिरन्जित बनाउन खोजेको पाइएको छ । उक्त समाचारमा उल्लेख भएको कुरा मैले बोल्दै नबोलेको र उक्त सञ्चार माध्यमका पत्रकार समेत उपस्थित एउटा बनभोज कार्यक्रममा यस विषयमा बोल्न पटक पटक आग्रह गर्दा आफु रसियाबाट भर्खर आएको र यस विषयमा केही थाहा नभएको, त्यस्तो कुनै असहमत जुनु पर्ने निर्णय भएको रहेछ भने संस्थागत विधि र पद्धतिमा टेकेर आफ्ना धारणा कार्य समिति भित्रै छलफल गरी पछि सार्वजनिक गर्ने बताएको कुरालाई तोडमोड गरी द्धित्तिय उपाध्यक्षकै गम्भिर असहमती भनेर प्रकाशित साचारमा मेरो गम्भिर आपत्ति छ । यो कुनै तथ्यमा आधारित भन्दा पनि व्यक्तिगत आग्रह पूर्वाग्रहले प्रेरित भ्रामक विषय भएको प्रष्ट पार्न चाहन्छु । यहाँ आएको समाचार आफ्नो चर्चाका निम्ति गरिने प्रपोगाण्डाको एक नमूना पित पत्रकारिताबाट प्रेरित भएको समेत मेरो बुझाई रहेको छ ।
बैठकहरुमा आफु उपस्थित हुन नसके पनि साधारण सभाका विषयमा सिंगो कार्यसमितिले गरेको निर्णयमा मेरो कुनै टिका टिप्पणी छैन । उक्त समाचारमा मेरो नाम जोडिएर आएको विषयमा यही विज्ञप्ति मार्फत मेरो कुनै संलग्नता नभएको कुरा सम्पुर्ण व्यवसायी, सिंगो कार्र्यसमिति र प्रतिष्ठित सञ्चार माध्यमलाई जानकारी गराउन चाहन्छु ।
धन्यवाद ।
रामप्रसाद सापकोटा
द्धित्तिय उपाध्यक्ष
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)
वि.सं.२०७३ पुस ८ शुक्रवार १४:३५ मा प्रकाशित