
काठमाण्डौं । बैंकलाई ब्रोकर लाइसेन्स दिने चर्चापछि ब्रोकर आफै उपत्यकाबाहिर सेवा विस्तारका लागि तात्तिएका छन् । ब्रोकरले रिमोट वर्क स्टेशन (आरडब्लुएस) विस्तार गरेर उपत्यकाबाहिरका १७ शहरबाट तत्काल कारोबार थाल्न सकिने सुझाव नेप्सेलाई गराएका छन्।
नेपाल स्टक ब्रोकर एसोसिएसनले उपत्यका बाहिर सेयर कारोबारलाई विस्तार गर्न आफूहरु नै तयार रहेको जनाउँदै बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने काम मान्य नहुने निर्णय गरेको छ।
एसोसिएसनले सोही सुझाव नेपाल स्टक एक्स्चेन्जलाई गराएको छ। यसअघि बैंकलाई ब्रोकर लाइसेन्स दिनेगरी कार्यदलले नेप्से संचालक समितिलाई सुझाव दिएपछि ब्रोकरले आफूहरुको सुझाव लिन भन्दै नेप्सेलाई दवाव दिएका थिए।
त्यसलगत्तै नेप्सेले ब्रोकरको सुझाव र प्रतिक्रिया लिने भन्दै कार्यदलको सुझाव थन्काएको छ। तत्कालका लागि बिराटनगर, पोखरा, बनेपा, वीरगञ्ज, इटहरी, दमक, बुटवल, भैरहवा, बिर्तामोड, धरान, बागलुङ, नेपालगञ्ज, नारायणगढ, हेटौंडा, महेन्द्रनगर, बेसीशहर र दाङमा आरडब्लुएस विस्तार गरेर कारोबार गर्न सक्ने निर्णयमा ब्रोकरहरु पुगेका छन्।
तत्कालका लागि आरडब्लुएस विस्तार गरेर जान सकिने ब्रोकरले नेप्सेलाई सुझावस्वरुप बुझाएका हुन्। नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीका अनुसार ति क्षेत्रमा प्रविधि र संभावना देखिएकाले आरडब्लुएस विस्तार गर्न सकिने निर्णयमा ब्रोकरहरु पुगेका हुन्।
१० पुस २०७३, १।००
वि.सं.२०७३ पुस १० आइतवार १३:३० मा प्रकाशित