कञ्चनपुर । कञ्चनपुरमा शिक्षकको कुटपिटबाट एक विद्यार्थीको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१७ माझगाउँस्थित महाकाली बाल विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र माधव कलौनीको गयराती उपचारको क्रममा भारतको राममुर्ती अस्पतालमा मृत्यु भएको हो।
बालकको मृत्युपछि कुटपिटमा संलग्न चार शिक्षकलाई प्रहरीले आज (बुधबार) बिहान पक्राउ गरेको छ। बालकको मृत्यु भएको घटना सार्वजनिक भएपछि विद्यालयका प्रिन्सिपल यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेले जानकारी दिए।
१३ असारमै बालकलाई शिक्षकले कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका बालकलाई सुरुमा डडेल्धुराको उपक्षेत्रीय अस्पताल, नेपालगन्जको शिक्षण अस्पताल हुँदै तीनदिन अघि मात्रै उपचारका लागि भारत लगिएको मृतकका मामा पुष्पमणी जोशीले बताए।
विद्यालय बाहिर साथीभाईसँग झगडा गरेको विषयलाई लिएर शिक्षकहरुले उनीमाथि कुटपिट गरेका मृतक बालकका बुवा बृरस्पती कलौनीको भनाई छ। बालकलाई शिक्षकहरुले कुटपिट गरेको विषयमा अभिभावकले १८ असारमै प्रहरीमा उजुरी दिएका थिए।
‘उजुरीपछि पीडित पक्षका कोही पनि सम्पर्कमा नआएकाले आरोपी शिक्षकलाई त्यतिबेलै पक्राउ नगरेका हौँ,’ एसपी पाण्डेले भने, ‘घाइते बालकको उपचारका क्रममा मृत्यु भएको जानकारी पाउँने वित्तिकै आज बिहानै चार शिक्षकलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेका छौँ।’ कुटपिटबाट कलौनीको दायाँ खुट्टा भाँचिनुका साथै टाउको र छातीमासमेत गहिरो चोट लागेको थियो।
(स्रोत :संचारपाटि)
२०७६ असार २५ गते प्रकाशित
वि.सं.२०७६ असार २५ बुधवार १५:२८ मा प्रकाशित