back
NMB ad

सर्वसाधारणले पाउने कर्जा सस्तो बन्दै : लघुवित्तका ग्राहकले १२-१३ प्रतिशत ब्याजमै पाउने

Kumari bank ad

काठमाडौं । हालसम्म औसत १८ प्रतिशतसम्म ब्याजदर तिरिरहेका लघुवित्तका ग्राहकहरूले अब अधिकतम १२ देखि १३ प्रतिशतमै कर्जा पाउने भएका छन ।

‘लघुवित्तहरूको सञ्चालन दक्षता अभिवृद्धि गरी कर्जाको ब्याजदर यथार्थपरक’ बनाइने आगामी वर्षका लागि पेस भएको बजेट वक्तव्यमा भनिएको छ । सरकारले हाल पुँजी लगानी गरेरै ब्याजदर सस्तो बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकमा विजयराज खनालले समाचार लेख्नुभएको छ ।

यसमा मुख्य पहल अर्थ मन्त्रालयले गरेको हो । ‘यो बजेटमा आफैँ आएको विषय हो, यसमा राष्ट्र बैंकले कुनै सुझाब दिएको भने थिएन,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

ब्याज घटाउन अनुदानमा रकम

राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म कतिपय लघुवित्तले ग्राहकसँग अधिकतम २० प्रतिशतसम्म ब्याज लिँदै आएका थिए । औसत ब्याजदर भने १८ प्रतिशतसम्म थियो ।

त्यसयताको ब्याजदर प्रकाशित छैन । १६ वैशाखमा परिपत्र जारी गर्दै असारसम्मको ब्याजमा ३ प्रतिशत कम राखेर ब्याज रकम निर्धारण गर्न निर्देशन दिइएको छ । यस आधारमा हाल औसतमा १५ प्रतिशत ब्याजदर भएको छ । अब यो दरमा पनि केही कटौती हुने भएको छ ।

‘अहिले नै ब्याजदर ३ प्रतिशत घटाउन भनिएको छ,’ लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले भने, ‘अब पुनर्कर्जाको रकमसमेत पाउने भएपछि थप केही ब्याजदर घट्नेछ ।’ पुनर्कर्जा प्राप्तिले लघुवित्तहरूको पुँजीकोष लागत नै घट्ने भएकाले ब्याजदर थप घट्ने भएको हो । ‘यस विषयमा मौद्रिक नीतिले नै बोल्नेछ, अहिले यसमा ठोस निर्णय भएको छैन,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भने, ‘तर, संस्थाहरूको औसत पुँजी लागतमा जतिले कमी आउँछ, ब्याजदर पनि त्यही दरमा घट्नेछ ।’

राष्ट्र बैंकका अनुसार अहिले लघुवित्तहरूको पुँजीकोष लागत १० प्रतिशत छ । यसमा ३ प्रतिशत प्रशासनिक खर्च र बढीमा ६ प्रतिशत थपेर ब्याज लिन पाइने व्यवस्था भए पनि औसतमा १८ प्रतिशत ननाघेको श्रेष्ठको दाबी छ । पछिल्लो निर्देशनपछि थोक कर्जा लगानी गर्ने लघुवित्तको कर्जाको ब्याजदर २ प्रतिशत र अन्य लघुवित्तको ३ प्रतिशतले कम भएको थियो । पुँजी लागतमा थपेर लिन पाउने शुल्क घटाउनसमेत हाल राष्ट्र बैंकमा छलफल चलिरहेको छ ।

राष्ट्र बैंकले केही दिनअघि सार्वजनिक गरेको पुनर्कर्जा कार्यविधिको मस्यौदाले पुनर्कर्जा कोषको रकमको १० प्रतिशतसम्म लघुवित्तहरूलाई समेत दिइने उल्लेख गरेको छ । हाल कोषमा भएको रकमको ५ गुणासम्म पुनर्कर्जा दिन सकिने व्यवस्थाले लगभग कोषको आकार २ खर्ब १५ अर्बसम्म हुने भएको छ । यस आधारमा २१ अर्ब ५० करोडसम्म लघुवित्त संस्थाले समेत पाउने भएका हुन ।
मस्यौदाले यसरी पुनर्कर्जा पाउने लघुवित्त संस्थाले प्राप्त स्रोतका आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुने गरी समायोजन गर्नुपर्ने उल्लेख गरेको छ ।

पुनर्कर्जा लघुवित्तको वैकल्पिक स्रोत

लघुवित्तहरूले केही समयअघिसम्म वाणिज्य बैंकलगायतबाट २ प्रतिशतसम्ममा पुँजी पाइरहेका थिए । केही समयअघिसम्म भने ४ देखि ५ प्रतिशतसम्म थियो । हाल बैंकहरूले विपन्न वर्गमा लगानी गर्नुपर्ने सीमा नाघेसँगै सीमाभन्दा बढी रकम लगानी गर्दा ८ देखि १० प्रतिशतसम्म ब्याज लिइरहेका छन ।

यति हुँदाहुँदै पनि लघुवित्तहरूलाई बैंकहरूबाट रकम पाउन कठिन पर्न थालेको छ । गत पुससम्म बैंक तथा वित्तीय संस्थाबाट यी संस्थाले १ खर्ब ४४ अर्ब पाएका छन । यो रकम अघिल्लो वर्षको यही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । बैंकहरूले विपन्न वर्गमा लगानी गर्नैपर्ने कुल कर्जाको ५ प्रतिशतमध्ये २ प्रतिशत कर्जा लघुवित्तमार्फत गर्न पाउने व्यवस्था छ ।

बैंकहरूले प्रत्यक्ष रूपमा लगानी गरिरहेको र अनिवार्य लगानी सीमा पूरा भएकाले पनि लघुवित्तबाटै लगानी गर्नुपर्ने बाध्यता हटेको छ ।हाल वाणिज्य बैंकहरूले विपन्न वर्गमा कुल कर्जाको ६ दशमलव ४७ प्रतिशत, विकास बैंकले ९ दशमलव ७५ र वित्त कम्पनीले ८ दशमलव ४४ प्रतिशत लगानी गरेका छन । यो सीमालाई बढाउन नमिल्ने भएकाले लघुवित्तहरूलाई पुनर्कर्जाका माध्यमबाट पुँजी नै दिन लागिएको हो ।

राष्ट्र बैंकको पुनर्कर्जा कोषबाट लघुवित्तहरूले १० प्रतिशत अर्थात् साढे २१ अर्ब रकम पाउनेछन । यो रकममा २ प्रतिशतभन्द कम ब्याज तिरे पुग्नेछ । यसबाट लघुवित्तले ग्राहकसँग लिने ब्याज पनि घट्नेछ । ग्राहकबाट २० प्रतिशतसम्म ब्याज असुल गरिरहेको पाइएपछि गत फागुनमा थप कडाइ गरेको थियो ।

वि.सं.२०७७ जेठ २६ सोमवार ०७:४२ मा प्रकाशित

You can share this post!

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:२५

क्यानबेरा, १४ वैशाख : विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक...

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...