काठमाडौं । लकडाउनका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले निर्णय गरेको छ।
विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन विधिबाट परीक्षा सञ्चालन गर्नेगरी विश्वविद्यालयले परीक्षा लिने बाटो खुलेपछि स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने त्रिविले निर्णय गरेको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा निर्देशिका अनुसार आन्तरिक मूल्यांकन, सामाजिक दुरी कायम गरेर परम्परागत विधि, वैकल्पिक सामग्रीको प्रयोग र खुल्ला विधिबाट परीक्षा गर्न सकिने भएकाले दशै अगाडी सम्ममा परीक्षा गराउन सकिने सम्भावना रहेको बताउँछन्। ‘स्थिति हेरेर भदौ, असोजबाट परीक्षा सुरु गरौँ भन्ने हो,’उनले भने,‘प्राय विद्यार्थीलाई सामाजिक दुरी कायम गराएर परीक्षा नै गराउने हो।
दशै अगाडी सम्ममा सबै स्थगित परिक्षा सकाउने लक्ष्य छ।’ उनले साउन ७ गतेपछि केही ठोष निर्णय आउने जानकारी दिए। उनले सेमेष्टर प्रणालीको भने अनलाईन विधिबाट परीक्षा गराउन सकिने बताए। अनलाइन वा विद्यार्थीले परीक्षा केन्द्रमै पुगेर परीक्षा दिनेगरी दुई विधिबाट मात्र परीक्षा गरिने विश्वविद्यालयले स्पष्ट गरेको छ।
वि.सं.२०७७ साउन ६ मंगलवार ०८:३० मा प्रकाशित