काठमाडौं । आजदेखि प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरकोे कुल ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो ।
कुल कित्तामध्ये कम्पनीले १६ लाख सामूहिक लगानीकोषसहित सर्वसाधारणमा, २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ सूचनामा उल्लेख छ ।
सर्वसाधारणका लागि छुट्याएको मध्येबाट २ हजार ५०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासन गर्न लागेको हो ।
‘प्रभु बैंक डिबेञ्चर २०८७’ नामको यो ऋणपत्रमा छिटोमा जेठ १६ गतेसम्म ढिलोमा २६ गतेसम्म आवेदन दिन सकिने छ । विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
प्रति ऋणपत्र १ हजार रुपैयाँ दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
वि.सं.२०७८ जेठ ११ मंगलवार ०९:०० मा प्रकाशित