काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनाको अवधिमा घ्यू तथा तेलको मूल्य उच्च दरमा वृद्धि भएको छ । गत वर्षको बैशाख मसान्त र यस वर्षको सोही अवधिको तुलनामा घ्यू तथा तेलको मूल्य २८.२० प्रतिशतले वृद्धि भएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चाल आवको बैशाख मसान्तसम्मको प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकको प्रतिवेदन अनुसार वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६५ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.८३ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.७२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.८१ प्रतिशत रहेको छ ।
गत वर्षको बैशाख महिनाको तुलनामा यो वर्षको सोही अवधिमा मासु तथा माछा, गैर–मदिराजन्य पेय पदार्थ र सुर्तीजन्य पदार्थ उपसमुहको मूल्यवृद्धि क्रमशः २८.२० प्रतिशत, १७.१२ प्रतिशत, ९.८५ प्रतिशत र ९.८४ प्रतिशत रहेको छ ।
यस्तै, समिक्षा महिनामा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१, पहाडमा ४.१४ र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको छ ।
गत वर्षको सोही अवधिमा वैशाखमा यी क्षेत्रहरुमा क्रमशः ५.७१ प्रतिशत, ६.३५ प्रतिशत, ५.११ प्रतिशत र ५.१९ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
वि.सं.२०७८ जेठ ३१ सोमवार १८:१९ मा प्रकाशित