काठमाडौ । नेपाल राष्ट्र बैंकसँग बैंक तथा वित्तिय संस्थाको दायित्व बुधबारसँम्ममा १ खर्ब ३५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तिय सस्थाहरुसँग तरलताको अभाव भएसँगै उनीहरुले नेपाल राष्ट्र बैंकले प्रदान गर्ने विभिन्न सुविधाहरुको प्रयोग गर्दै आइरहेका छन् । जसका कारण राष्ट्र बैंकसँग दायित्व थपिएको हो ।
राष्ट्र बैंकका अनुसार बुधबारसम्ममा रिपो तथा आउट राइट पर्चेज सुविधा अन्तर्गत बैक तथा वित्तिय संस्थाहरुले २ खर्ब ४७ अर्व २१ करोड रुपैयाँ चलाएका छन् । त्यसमध्ये २० अर्ब रुपैयाँ दायित्व राष्ट्र बैंकमा रहेको छ ।
त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुले राष्ट्र बैंकबाट ओभरनाइट रिपो अन्तर्गत ७० अर्ब ३५ करोड रुपैयाँ चलाएका छन् । त्यसमध्ये ४० अर्ब रुपैयाँ दायित्व राष्ट्र बैंकमा छ । ओभरनाइट रिपोको व्याजदर साढे ३ प्रतिशत रहेको छ ।
त्यसैगरी स्थायी तरलता सुविधा (एसएलएफ्) अन्तर्गत बुधबार बैक तथा वित्तिय संस्थाहरुले २५ खर्ब ५७ अर्ब ९९ करोड रुपैयाँ चलाएका छन् । सो रकमको राष्ट्र बैंकमा एक खर्ब १५ अर्ब ९५ करोड रुपैयाँ दायित्व रहेको जनाएको छ । एसएलएफ् अन्तर्गत बैंक तथा वित्तिय संस्थाहरुले पाँच प्रतिशतको व्याज तिर्नुपर्दछ ।
वि.सं.२०७८ पुस ८ बिहीवार १७:५७ मा प्रकाशित