पोखरा । सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि महिलाहरुको सहभागिता बढाउनु पर्नेमा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर राष्ट्रिय सहकारी बैंक पोखरा शाखाले बिहीवार आयोजना गरेको सहकारी महिला र युवाको गुणस्तरीय सहभागिता विषयक कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।
महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सामाजिक रुपमा सशक्त बनाउने काम सहकारीले गरेको छ, सहकारीमार्फत महिलाको नेतृत्व तथा क्षमता विकास समेत भएको भन्दै सहभागीहरुले सहकारी क्षेत्रको प्रभावकारिताका लागि महिला सहभागिता बढाउनु पर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले महिलाहरुलाई मुलुक निर्माणका हरेक क्षेत्रमा अगाडि बढाउनका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
सहकारीका सदस्यमा महिलाको सहभागिता ५६ प्रतिशत भए पनि नेतृत्वमा ३३ प्रतिशत पनि नपुगेको भन्दै जिसीले सहकारी संघ संस्थाको नेतृत्वमा महिलाको सहभागिता बढाउन ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
वि.सं.२०७८ फागुन २७ शुक्रवार १७:१९ मा प्रकाशित