back
NMB ad

पर्यटकलाई मोहित बनाउने शिरीषको राताम्य फूल   

Kumari bank ad

चन्द्रकला भण्डारी
झापा, २३ जेठ ।  झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडियो’ बनाउनेको भीड उर्लिएको छ ।

झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा छ । चियाको बुट्यानयुक्त प्राकृतिक हरियालीमा फूलको सौन्दर्य थपिएपछि मेची राजमार्ग हुँदै पहाडी जिल्लाहरू इलाम, पाँचथर र ताप्लेजुङ जाने अधिकांश यात्री एकछिन रोकिएर रमाउने र फोटो खिचाउने गर्छन् ।

शिरीष फूलको सौन्दर्यले मोहित हुँदै खिचिएका फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिरालो जमिन भएकाले भूक्षय हुन नदिन शिरीषका विरुवा हुर्काइएको थियो । पुराना ती रुखहरू वर्षमा एकचोटि फूलेर राताम्य हुँदा पर्यटकीय आकर्षणको केन्द्र बन्ने गरेको हो ।

शिरीष फूल्न थालेपछि हरेक दिन पाँच सय मानिस सो स्थानमा घुमफिरका लागि आउने गरेका छन् । पर्यटकको ओइरो लागेपछि चिया, खाजा र पानी बेच्ने साना व्यवसाय फस्टाएका छन् । “शिरीष फूलेपछि मानिसको ओइरो लाग्यो, त्यसपछि मैले पनि यहाँ पानी, कुरमुरे जस्ता सामान बेच्न थालेको छु”, बुद्धशान्ति–४ का अर्जुन घिमिरे भन्नुहुन्छ, “पहिला बुधबारे बजारमा दोकान चलाउँथे । अहिले यही भाइरल शिरीषको फेदमा बसेर व्यापार चलाइरहेको छु ।” अरुभन्दा शनिबार भीड उर्लिने गरेको उहाँले बताउनुभयो ।

एक साताअघि अस्ट्रेलियाको ब्रिसबेनबाट स्वदेश फर्कनुभएकी इटहरी–४ की अनुष्का कटुवाललाई इलामको पर्यटकीय स्थल श्रीअन्तु जाँदै गर्दा बर्नेको भाइरल शिरीषको फूलले लोभ्यायो । परिवारका १२ जना सदस्यसहित आउनुभएकी उहाँले रिजर्व गाडीलाई राजमार्ग छेउमा पार्किङ गराएर एक घण्टा फोटो र भिडियो खिचाउनमा बिताउनुभयो ।

“चिया बगानको हरियाली हेर्दै इलामतिर जाँदै थियौँ, रुखभरि रातो रङ पोतेजस्तो गरी फूलेको शिरीषका रुखहरू बाटामा लहरै उभिएका देखेपछि मनै थामिएन”, उहाँले भन्नुभयो, “वरिपरि चिया बगानको हरियाली, माझमा चिल्लो राजमार्ग र लहरै फूलको शिरीषहरू । साह्रै राम्रो ठाउँ रहेछ ।”

उहाँले राताम्य फूललाई पृष्ठभूमिमा राखेर १२ वटा टिकटक र मनलाग्दी सेल्फी खिचेको बताउनुभयो । अस्ट्रेलियातिर सार्वजनिक पार्कहरूमा शिरीषको रङ्गीबिरङ्गी फूलले पर्यटकलाई लठ्याउने गरेको देखेको बताउँदै उहाँले यति धेरै मानिसको भीड लागे तापनि यहाँ पार्किङ, शौचालय र गफिने चौतारोहरूको अभाव रहेको गुनासो सुनाउनुभयो ।

भोजपुरको अरुण–४ घर बताउने ३० वर्षीय अर्पण राईले पाँचथरको फालेलुङ जाँदै गर्दा भाइरल शिरीषको फूलमा केही भिडियो बनाउन पाउँदा आनन्द लागेको बताउनुभयो । फूलको फेदमा गिटार रेटेर गीत गाउँदै गरेको सात वटा भिडियो खिचेको उहाँले बताउनुभयो ।

“फूल त एउटा सिजनमा मात्र फुल्छ, तर यहाँ चिया बगानको सदाबहार हरियाली रहेकाले दीगो पर्यटकीय आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ”, उहाँले भन्नुभयो । गर्मीको मौसममा शिरीषको बोटमुनि शीतल छायाँ पाइने र त्यसमाथि फूलको सौन्दर्यले मानिसको ओइरो लाग्नु स्वाभाविक भएको उहाँको भनाइ छ ।

के पाका, के युवा तथा बालबालिका, सबै उमेरका पाहुना त्यहाँ पुग्ने गरेका छन् । इटहरीका ६३ वर्षीय बलराम कटुवाल छोरीछोरीहरूको आग्रहमा भाइरल शिरीषको बोटमुनि टिकटकका लागि छमछमी नाचिरहनु भएको भेटियो । “छोरीहरूले कर गरेपछि नजानी नजानी पनि नाचेको हुँ, तर यो ठाउँ चाहिँ साह्रै मज्जाको रहेछ”, इलाममा घुम्न जाने क्रममा बाटैमा फूलको रौनक देखेर टिकटक बनाउनतिर लागेको उहाँले बताउनुभयो ।

भाइरल शिरीषको चर्चा सामाजिक सञ्जालमार्फत फैलिएपछि टिकटक बनाउनकै लागि भनेर साथीहरूसँग घुम्न आएको भद्रपुर–३ की रेबिका थापाले बताउनुभयो । चन्द्रगढीको वीरेन्द्र नमूना क्याम्पसको शिक्षा सङ्कायको स्नातक प्रथम वर्षमा अध्ययनरत उहाँले धेरैजसो साथीहरू शिरीषको फूलसँग फोटो र भिडियो खिचाउन यसअघि नै आइसकेको बताउनुभयो ।

झापामा पर्यटकीय आकर्षणका स्थलहरू प्रशस्त रहेको र फूलको सौन्दर्यले मानिसको मनलाई उल्लासित बनाउने भएकाले फूलेका शिरीषका रुखहरू भाइरल भएको फोटो पत्रकार देवेन्द्र खरेल बताउनुहुन्छ । “यो ठाउँ राजमार्गबाट नजिक र हरियाली चियाका बोटहरूले घेरिएको कारण धेरै मानिसहरूको रोजाइ बनेको हो”, उहाँ भन्नुहुन्छ, “फूल फूलेरै सुन्दर बनेका यस्तै दर्जनौँ स्थलहरू हाम्रै वरपर छन् ।” सामाजिक सञ्जालमा प्रकाशित गरिएका तस्वीर र दृश्यका कारण टाढादेखि आन्तरिक पर्यटकहरू शिरीषको फूलको सौन्दर्यप्रति मोहित बनेको उहाँको ठम्याइ छ ।

ठाउँ सुन्दर र फूल झन् सुन्दर भएरै त्यहाँ शिरीषको फूल हेर्न पर्यटकहरूको ओहोरदोहोर बढिरहेको छ । छोटो अवधिमै नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित बनिरहेको त्यस ठाउँमा राजमार्गतिर उभिएर आफ्नै धुनमा फोटो र भिडियो खिच्ने प्रवृत्ति बढ्दा सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । अर्कातिर, पर्यटकको सुविधा र सहजताका लागि शौचालय, खाजाघर र सुरक्षाको पर्याप्त प्रबन्ध हुन सकेको छैन ।

वि.सं.२०८० जेठ २३ मंगलवार २०:३९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...