काठमाडौं । प्रिमियम मूल्यमा निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा २० करोड ९६ लाख २५ हजार २८० रुपैयाँ बराबरको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज अर्थात साउन २ गते साँझसम्म ११ हजार ९१९ जनाले ८ लाद ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन् ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ ।
सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिनेछ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयर निष्काशन गर्नेछ।
इन्स्योरेन्सले कुल निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो। त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा आइपीओ जारी गर्न लागेको हो ।
इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ ।
वि.सं.२०८० साउन २ मंगलवार १८:०५ मा प्रकाशित