back
NMB ad

अर्थतन्त्रको खोक्रोपन : सुधार गर्न चाल्नुपर्ने कदमहरू

Kumari bank ad

दीपेन्द्रबहादुर क्षेत्री
पूर्व गभर्नर

रेमिट्यान्स बढेकोमा खुसी मानिरहँदा पुनर्उत्पादनमा त्यो रकम प्रयोग हुनसकेको छैन । अधिकांश रकम उपभोग्य वस्तु र किनेर खानमै खर्च भएको छ ।

वर्तमान आर्थिक क्षेत्रमा विरोधाभाषिक किसिमका परिस्थितिहरू देखिएका छन् । यसमा आन्तरिक र बाह्य परिस्थितिको कुरा हुने गर्दछ । आन्तरिकअन्तर्गत रोजगारी सिर्जना, उत्पादनका साधनहरूको अधिकतम उपभोग, आन्तरिक खपत वा बजारीकरणमा वृद्धि र उत्पादनको उपभोगपछि भएको बचतलाई निर्यात गर्ने विषयहरू पर्दछन् । यो पाटो असाध्यै कमजोर छ । कृषिप्रधान देश भने पनि यहाँ सिञ्चित भएका जग्गा अरु कुनै उद्देश्यका लागि प्रयोग भइरहेका छन् । वैज्ञानिक तथ्यले हिउँदमा लगाएको धान वर्षातको भन्दा डेढी बढी फल्छ भनेर बताउँछ । तर यहाँ सिंचाइ भएको जमिन नै बाँझो छ । श्रमशक्ति साथमा छैन विदेशिएको छ । मानिसहरूमा काम गरेर खाने मानसिकता छैन ।

यो वर्ष धानको उत्पादन बढेको तथ्याङ्क देखिन्छ । ५७ लाख मेट्रिकटन धानको उत्पादन छ तर करिब ५ लाख अपुग हुने भनाइ बाहिरिएको छ । भारतबाट गहुँ आयात नहुँदा यहाँका मिलहरू सञ्चालनमा आउन सक्दैनन् । चालीस रुपैयाँ पर्ने पाउरोटीको मूल्य ६० रुपैयाँ छ । पाँच महिनामै ६ अर्ब रुपैयाँ बराबरको तरकारी आयात भइसकेको छ । त्यसकारणले आन्तरिक परिस्थिति एकदमै कमजोर छ । यता बाह्य परिस्थिति हेर्दा अन्तर्राष्ट्रिय व्यापारसँगै आयात घटेको छ । व्यापार घाटा घटेको छ । तर पनि प्रतिमहिना वस्तुतर्फ १ खर्ब २० अर्ब हाराहारीको व्यापार घाटा छ । सेवातर्फ पनि घाटामा छौं । सबै व्यापारको हिसाबले भने बचतको अवस्था देखिन्छ । पाँच महिनामा १ खर्ब ४० अर्ब नाफा छ भनेर नेपाल राष्ट्र बैंकले भनेको छ । प्रत्यक्ष वैदेशिक लगानी पनि ४ अर्ब आएको देखिन्छ । सोधानान्तर स्थिति पाँच महिनामा करिब २ खर्ब १० अर्ब नाफामा छ ।

माथिका यी दुवै विषयको तुलना गर्ने हो भने आन्तरिक अवस्था नै ठीक भएन भने अरु कुनै पनि सुधारको मतलब रहन्न । जस्तै मानिसको पेट, मृगौला, मुटु ठीक छैन भने छाला सुन्निनुको मात्रै अर्थ रहन्न । त्यसैले मुलुकको अर्थतन्त्र राम्रो ट्रयाकमा हिँडिरहेको छ भन्न गाह्रो छ । अहिले ११ महिनाका लागि वस्तु तथा सेवा किन्न पुग्ने विदेशी मुद्राको सञ्चिति रहेको देखिन्छ । वैदेशिक लगानी ४ अर्बले बढ्दा बाह्य क्षेत्र सुधारमा छ । तापनि आन्तरिक रुपमा गर्नुपर्ने गृहकार्यलाई दिगोरुपले गर्न नसकेको कारण देशको अर्थतन्त्रमा खोक्रोपन देखिएको छ ।

अनौपचारिक अर्थतन्त्र नै मुख्य जोखिम
अहिले पनि ५० प्रतिशतजस्तो हाम्रो अर्थतन्त्र अनौपचारिक क्षेत्रले ढाकेको देखिन्छ । ती व्यक्तिहरू कसले कहाँ के काम गर्दछ र कति आम्दानी ग¥यो या कति नोक्सानी ग¥यो थाहा हुनै सक्दैन । सुन आयातमा बिटक्वाइनको प्रयोग भयो भनियो तर कहीँ पनि रेकर्ड देखिँदैन । यी दुवै क्रियाकलाप गैरकानुनी हो । त्यसले सरकारी राजश्व पनि आउन सक्दैन । त्यसैले यस्ता क्षेत्रमा जोखिम छ । तथ्याङ्क कार्यालयले दिएको सूचनाअनुसार ५० प्रतिशत अनौपचारिक क्षेत्रको जोखिम कायमै छ ।

अर्थतन्त्र उकास्न कृषिमा जोड
यहाँ पहिले पैसा नभएको कारणले बैंकहरूले ऋण दिन सकेनन् भनियो । अहिले ठीक उल्टो अवस्था छ । पैसा बैंकमा बढी भएको हुनाले राष्ट्र बैंकले धमाधम ६ अर्बदेखि ३४ अर्बसम्म खिचेको पाइन्छ । यो सामान्य अवस्था होइन । भ्रष्टाचारका विषयले अर्थतन्त्रमा नकारात्मक असर गरिरहेको छ । यसका अतिरिक्त कुनै बेला गोलभेंडा भारत निर्यात गर्दा १५० रुपैयाँ किलोसम्म प्राप्त गरेको पनि पाइयो । त्यतिबेला नेपालमा भने अभाव भयो । अहिले अलैँचीमा किसानले राम्रो भाउ पाएका छन् । पोहोर भाउ पाइएन भनेर खेती नै नगर्ने हो कि भन्नेसम्मको स्थिति किसानमा थियो । भन्न खोजेको कुरा हाम्रो उत्पादन पद्दति दिगो नहुँदा नितान्तरुपमा बजार अनिश्चितता हुने जोखिमहरू निम्तिरहेका छन् । यसको निमित्त विशिष्ट कार्ययोजना नै बनाएर अगाडि बढ्नुपर्ने खाँचो देखिन्छ । त्यो भनेको कृषिको पकेट क्षेत्र पहिचान गरी कुन क्षेत्रमा के उत्पादन गर्ने भनेर अध्ययन हुन जरुरी छ ।

किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउनुपर्दछ । सरकारले मल, बिउ र बजारका लागि सहयोग गर्नुपर्ने देखिन्छ । जब बजार सुनिश्चित हुन्छ तब किसान प्रोत्साहित हुनेछन् । कृषिमा भइरहेको विचौलियाको चलखेल अन्त्य गर्नुपर्दछ । यसअघि सहकारीको माध्यमबाट काम गर्दा राम्रो हुन्थ्यो भन्ने गरिन्थ्यो । तर पछिल्लो समय सहकारीहरू नै समस्याग्रस्त भइदिँदा काम कसरी गर्ने भन्ने अलमल भइरहेको देखिन्छ । त्यसैले सरकारले किसानलाई चाहिने मल, बिउको आवश्यक तथ्याङ्क लिएर त्यसलाई समयमै उपलब्ध गराइदिने र उत्पादन भइसकेपछि बजार व्यवस्थाको संकेत दिएमा मात्रै पनि किसानले आफ्नो मेसो मिलाउनेछन् ।

कृषिमा पहिलो जोड दिँदा धेरैभन्दा धेरै जनसंख्यालाई हामीले त्यहाँ सहभागी गराउन सक्दछौं । उत्पादनदेखि गोदाम, मिल, बजार सबै क्षेत्रका मानिसले काम पाउँछन् । कृषिले राम्रो गरेमा बाहिरबाट आयात गर्ने कुरालाई प्रतिस्थापन गर्न सकिन्छ । यसमा कम प्रविधियुक्त सीप भए पनि काम चल्दछ । पर्याप्त रोजगारी दिन सकिने र आयआर्जन लिन सकिने कृषिमा नै हाम्रो पहिलो जोड हुनुपर्ने देखिन्छ ।

रेमिट्यान्सको सदुपयोग
अहिले हामी सबैले रेमिट्यान्स बढेकोमा खुसी मानेका छौं । हाम्रो खेतबारी र सेवा क्षेत्रमा काम गर्ने मजदुरहरू बाहिर गइदिएको हुनाले उताबाट रकम आएको हो । तर विडम्बना पुनर्उत्पादनमा त्यो रकमको प्रयोग धेरै कममात्रै भएको पाइन्छ । अधिकांश रकम उपभोगमै खर्च भएको छ । विप्रेषण पाउने परिवारले आइफोन चलाउँछन् । ती महँगा चिज विदेशबाटै आयात गरेर चलाउने हो । विदेशबाट सबै चिज किनेर चलाउने हो भने रेमिट्यान्स आएर खुसी मान्नुपर्ने अवस्था रहन्न । दुःखका साथ प्राप्त रेमिट्यान्सको सदुपयोग गरेर पुनः मानिसलाई बाहिर जाने अवस्था अन्त्य गर्नसकेमात्र त्यो फलदायी हुनेछ । त्यसले पारिवारिक सुख, शान्ति, उत्पादन वृद्धि, स्वदेशमै रोजगारी हुनसक्ने सम्भावना रहन्छ । यस दिशामा बढी ध्यान जानुपर्नेछ । सरकार र निजी क्षेत्रले त्योअनुसारको योजना ल्याउनुपर्ने हो । पशुपालन, फलफूललगायत विभिन्न क्षेत्रमा जान सके मुलुकको हितमा काम हुनेछ भन्ने मेरो ठहर हो ।

केन्द्रीय बैंकको भूमिका
अहिले ब्याजदर तलमाथि गर्नमात्रै केन्द्रीय बैंकले ध्यान दिएको देखिन्छ । त्यसमा उदार हुनुहुँदैन भन्नेमा केन्द्रीय बैंक रहेको छ । राष्ट्र बैंक मूल्यवृद्धि नियन्त्रण गर्ने जिम्मेवारी बोकेको संस्था हो । यदि उत्पादन नै भएन भने केन्द्रीय बैंकले रोक्छु भने पनि बाहिरबाट आयात गर्दा डलर तिर्नुपर्दछ । जतिसुकै प्रयास गर्दा पनि रोक्ने कार्य यहाँ सम्भव हुँदैन । अनि डलर तिरेर आउने चिजले मूल्यवृद्धि गराउँछ । राष्ट्र बैंकको मूल्यवृद्धि नियन्त्रण गर्ने भन्ने लक्ष्य पनि पूरा हुँदैन । ४–५ प्रतिशत ब्याज सरकारले बेहोरिदिएर राष्ट्र बैंकले उत्पादनका विषयमा सहुलियत कर्जा दिने पनि भनेको छ । सीधैं कृषकको पहुँचमा पुग्नेगरी त्यस किसिमका कर्जा प्रवाह गर्न सकेमा कृषिमा मद्दत पुग्न सक्दछ । यसको जिम्मेवारी आंशिकरुपमा केन्द्रीय बैंकको हो ।

राष्ट्र बैंकले कृषि या अन्य प्रशोधन कार्य गर्नुपर्दा बजारका लागि दिइने कर्जाका विषयमा बैंकहरूलाई निर्देशन दिन सक्दछ । त्यसरी प्रशोधन उद्योगमा गएको कर्जाको ब्याज कम गर्ने हो भने निर्यातभन्दा पनि मुलुकको आवश्यकता पूर्ति गर्न उद्योगहरूले यहीँ काम पाउनेछन् । बाहिरबाट आउने सामानको मार्जिनसमेत विदेशीलाई दिन पर्दैन । यहीँका उद्योगी, व्यापारीले पाउनेछन् । त्यसैले मुख्यरुपमा उत्पादन र रोजगारी सिर्जनाका पाटोमा केन्द्रीय बैंकले ध्यान दिन सक्नुपर्दछ ।

आत्मविश्वास बढाउँदै उचित नीतिको आवश्यकता
यहाँ मूल्यवृद्धि भयो भने सरकार टक्टकिएर केन्द्रीय बैंकतिर जिम्मेवारी हस्तान्तरण गरिदिने चलन छ । यतिबेला सरकार र केन्द्रीय बैंकको बीचमा सौहार्द वातावरण देखिइरहेको छैन । यसबीचमा मूल्यवृद्धि रोक्न ब्याजदरलाई आधार मानेर माग र आपूर्तिको पक्षबाट जानुपर्ने कुरा गरियो । पैसा प्रशस्त भएमा लगानी हुन्छ भनियो तर पैसा प्रशस्त भए पनि बजारमा लगानी हुन सकिरहेको छैन । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल जाँदा अर्थतन्त्रमा पैसा बढी भएको बुझेर बजारबाट रकम खिचेर लिइएको अवस्था छ । तर पैसा हुँदा पनि बैंकहरूले लगानी गर्न सकिरहेका छैनन् । यहाँ निक्षेपमा ब्याजदर घट्यो तर कर्जामा घट्न सकेको देखिन्न । नयाँ कर्जा लिन आउँदा कसैले घटाएको देखिए पनि पुरानो कर्जामा ब्याजदर नघटेको गुनासो छ । त्यतातर्फ केन्द्रीय बैंकले ध्यान पु¥याउनुपर्ने अवस्था छ । आत्मविश्वास बढाउँदै आफ्ना सम्पूर्ण औजारलाई प्रयोग गरेर राष्ट्र बैंक जानुपर्दछ ।

देशको अर्थतन्त्र उकास्ने हो भने कृषिमा पहिलो जोड दिनुपर्छ । यसो गर्दा धेरैभन्दा धेरै जनसंख्यालाई कृषिमा लगाउन सकिन्छ । उत्पादनदेखि गोदाम, मिल, बजार सबै क्षेत्रका मानिसले काम पाउँछन् ।

आशातित वातावरण
अहिले शेयर बजार परिसूचक नेप्से बढिरहेको छ । घरजग्गाको कारोबार सुधारिएर आएको छ । मूल्यवृद्धि ५ प्रतिशत हाराहारीमा झरेको छ । यसले बजारमा अलिअलि सुधारको संकेत मिलेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार गरेर ब्याजदर पनि केही कम भएको छ । अब शेयर बजारमा कर्जा बढ्ने अपेक्षा भइरहेको छ । उत्पादन वृद्धि गर्न कृषि उत्पादनको फसल कुर्न कम्तीमा पनि तीन महिना लाग्नेछ । त्यतातर्फ पनि अब केही हुन्छ भन्ने अपेक्षा बढेर गएको छ ।

यहाँ हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने केन्द्रीय बैंकबाट विकास निर्माणको धेरै अपेक्षा गर्नुहुँदैन । यसले सहजीकरण गर्नेमात्रै हो । अहिले सबै कुरा मौद्रिक नीतिले गर्दछ भनेर सरकारले राष्ट्र बैंकको थाप्लोमा सबै चिज हालिदिने काम गरिरहेको छ । केन्द्रीय बैंकको भने आफ्नै सीमितता छ । अहिले मानिसका धेरै अपेक्षा छन् । यस्तो अपेक्षाका बीच पनि सरकारी संयन्त्रबाट सस्तो आश्वासनमात्र दिने काम भइरहेको छ, जुन गलत हो । अब प्राविधिक सेवाहरू विस्तार गर्नुपर्दछ । पशुपाललनमा लम्पीस्किनले अर्बौंको नोक्सान ग¥योे । सरकारले यस्ता कुरामा किसानलाई उचित सेवा र क्षतिपूर्ति दिनुपर्दछ । हिउँदको बेला अहिले गहुँ छर्ने समय भयो । गहुँ बालीलाई प्रवद्र्धन गर्न सरकारले कार्यक्रम ल्याउनुका साथै गाउँ गाउँसम्म बुझाउन सक्नुपर्दछ । त्यसले मिलहरूले पनि भारतबाट आयात गर्न पर्दैन भन्ने बुझ्नेछन् ।

किसानलाई खेती किसानी भनेको दुःखमात्रै हो भन्ने अवस्था आउन दिनुहुँदैन । यसमा राज्यले सहयोग पु¥याउनुपर्दछ । अब सरकारी पक्ष र निजी क्षेत्र दुवै मिलेर अगाडि जान सकेमा समृद्धिको निमित्त योगदान पुग्ने निश्चित छ । मुख्यत उत्पादन र रोजगारी वृद्धिमा सबैले ध्यान दिएर समृद्धिको पथ समात्न सक्नुपर्दछ ।  (इमान जर्नलबाट साभार )

वि.सं.२०८० फागुन ६ आइतवार ०७:०१ मा प्रकाशित

You can share this post!

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...