काठमाडौं । एक दर्जन कम्पनीहरुले वार्षिक साधारण सभा बोलाएका छन् । यी १२ वटा कम्पनीहरुले जेठ मसान्तभित्र साधारण तथा विशेष सभा गर्न लागेको हुन् ।
सभा डाकेका कम्पनीहरुले प्रस्तावित लाभांश पारित, आईपीओ तथा एफपिओ निष्काशन, मर्जर लगायतका एजेण्डा तय गरेका छन् ।
सिक्लेस हाइड्रोपावर
सिक्लेस हाइड्रोपावरले आउँदो १३ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा आभ्या क्लब घारीपाटन १७ पोखरा, कास्कीमा बिहान ११ बजे सरु हुनेछ । सभाले चुक्तापूँजीको १०.५२ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
युनाईटेड इदी मर्दी
युनाईटेड इदी मर्दी एण्ड आरवि हाइड्रोपावरको साधारण सभा जेठ १४ गते हुने भएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित हुनेछ ।
यस्तै, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरणसहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।
कम्पनीले सभा प्रयोजनका लागि वैशाख ३० गते बुकक्लोज गरेको छ ।
यूनाइटेड इन्स्योरेन्स
यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को साधारण जेठ २३ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षकोको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्गो लगाउनेछ ।
यस वर्ष कम्पनीले लाभांश प्रस्ताव भने गरेको छैन । पूँजी वृद्धिका लागि बीमा समितिले जोड दिइरहँदा कम्पनीले मर्जर तथा प्राप्ति प्रकृयाबाट पूँजी वृद्धि गर्ने योजना बनाएको देखिन्छ ।
कम्पनीले सभाको विशेष प्रस्तावमा भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भन्दै सोको आवश्यक कार्यका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ ९ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
लाफिङ्ग बुद्ध पावर
लाफिङ्ग बुद्ध पावर नेपालले भने आउँदो जेठ २३ गते विशेष साधारण सभा बोलाएको छ ।
कम्पनीले सभा कम्पनीको कार्यालय काठमाडौंमा दिनको १ बजे हुने जानकारी दिएको छ । सभाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले कम्पनीको ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
मिड सोलु हाइड्रोपावर
मिड सोलु हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा जेठ २३ गते गर्ने भएको छ ।
सभाले कम्पनीको हाल कायम पूँजी संरचना संशोधन गर्ने र सोका लागि कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यसैगरी सभाले पूँजी वृद्धि पछि सोही बमोजिम आईपीओ निष्काशन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीको जेठ ४ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण भने जेठ २५ गते हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
सभामा सर्वसाधारणमा ६० लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद सेयर जारी गर्ने योजना बनाएको हो ।
साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ ।
नेपाल मेटल कम्पनी
नेपाल मेटल कम्पनीको वार्षिक साधारण सभा जेठ २७ गते हुने भएको छ ।
सभाको प्रस्तावमा सभाको माइन्युट बुकमा दस्तखत गर्न सञ्चालक समितिबाट १ जना र शेयरधनीबाट जना प्रतिनिधि मनोनयन गर्ने, नियमनकारी निकायबाट दिइएका निर्देशनको सम्बन्धमा निर्णय गर्न सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने रहेको छ ।
सभाले आव २०७५/७६ देखि २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
यसका साथै २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
गोर्खाज फाइनान्स
गोर्खाज फाइनान्सले पनि आउँदो जेठ २७ गते २७औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभाले गत आर्थिक वर्ष २७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
साथै, सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक सेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गरिनेछ ।
सञ्चालक समितिले नियुक्त गरेको स्वतन्त्र सञ्चालकको जानकारी समेत सभामा गराउने कार्यक्रम समेत कम्पनीले तय गरेको छ ।
साधारण सभा प्रयोजनका लागि जेठ १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय कम्पनीले गरेको छ ।
जाल्पा सामुदायिक लघुवित्त
जाल्पा सामुदायिक लघुवित्तको तेस्रो वार्षिक साधारण सभा जेठ २८ गते हुने भएको छ ।
कम्पनीको जेठ १ गतेको सञ्चालक समितिको बैठकले बुटवल, रुपन्देहीमा सभा गर्ने निर्णय गरेको हो ।
गत माघमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको कम्पनीले पहिलो वर्ष लाभांश नदिने भएको छ ।
साधारण सभा प्रयोजनका लागि भने जेठ १२ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने मिति कम्पनीले तय गरिसकेको छ ।
किसान लघुवित्त
किसान लघुवित्तको साधारण सभा जेठ २८ गते हुने भएको छ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस सेयरलाई समेत अन्तिम रुप दिनेछ ।
यस अघि कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँको आधारमा उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीले थप सर्वसाधारणलाई सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।
साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
उदयपुर सिमेन्ट उद्योग
उदयपुर सिमेन्ट उद्योग लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो जेठ ३० गते सभा गर्ने भएको हो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने र विशेष प्रस्तावमा प्रवन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने रहेको छ ।
सभाले आव २०७७/७८ मा महालेखा परीक्षकको कार्यालयबाट नियुक्त लेखापरीक्षक र निजले पाउने पारिश्रमिक अनुमोदन गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्नेछ ।
यसका साथै सभामा लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आवको नाफा नोक्सान हिसाब, बाँडफाँड तथा नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।
विन नेपाल लघुवित्त
विन नेपाल लघुवित्तले आउँदो जेठ ३१ गते साधारण सभा गर्ने भएको छ । सभामा एफपीओ निष्काशन तथा लाभांश प्रस्ताव पारित हुनेछ ।
सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको ९.३३ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लािग ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सोही सभाले बोनस सेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा संस्थापक तथा सर्वसाधारण शेयरधनीहरुको अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न प्रबन्धपत्र संशोधन गर्नेछ ।
सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले जेठ १८ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ ।
वि.सं.२०७९ जेठ ११ बुधवार १३:०५ मा प्रकाशित