काठमाडौ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले अब एमालेले जनताबाट बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । युवा संघ नेपालले बिहिबार आयोजना गरेको ‘युवाको स्वदेशी तथा वैदेशिक रोजगारीमा देखिएका अवसर तथा चुनौती’ विषायक कार्यक्रममा नेता भट्टराईले एमालेले सरकारमा बसेर बृहत् परियोजना तथा आर्थिक गतिविधिका लोकप्रिय कार्यक्रम ल्याए पनि बहुमत नभएका कार्यानवयन गर्न नसकेको कारण सरकारबाट बाहिरनुपरेको बताए । युवा जनशक्ति बाहिरिएका कारण देशमा खेतीयोग्य जमिन बाँझो रहेको बताउँदै उनले मुलुकमा भएका साधन, स्रोतको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले गत वर्ष ६ खर्ब १७ अर्ब रुपैंया बराबरको विप्रेषण आए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा उपभोगमा खर्च बढेको बताए ।
श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले स्वदेशी उत्पादन बढाएर विदेशी सामग्रीको आयातमा बढ्दै गएको निर्भरता न्यूनीकरण गर्नुपर्नेमा जोड दिए । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा निजी क्षेत्रले १४ प्रतिशतसम्म योगदान गरेकामा अहिले उद्योगधन्दा धराशयी बन्दै गएकाले ५ प्रतिशतको मात्र योगदान रहेको जानकारी गराए ।
अन्तक्रियामा संघका अध्यक्ष राजीव पहारीले युवा संघले अबदेखि देशभर गर्ने औपचारिक कार्यक्रममा स्वदेशी उत्पादनको प्रयोग गर्ने बताए ।
युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, उपाध्यक्ष दिलु पन्त, संविधानविद् टीकाराम भट्टराई, एलपी सावाँ लगायतले राजनीतिक अस्थिरताले रोजगारी सिर्जना गर्न नसकिएको बताउँदै विप्रेषणले देशको अर्थतन्त्र चलेकाले त्यसको केही प्रतिशत रकम जलविद्युत्मा लगानी गरी रकम लगानी गर्नेहरुलाई सेयर उपलब्ध गराउनुपर्ने सुझाव दिएका थिए ।
प्रकाशित मिति : २०७३ भदौ ९
वि.सं.२०७३ भदौ ९ बिहीवार १९:३२ मा प्रकाशित