back
NMB ad

वितरणतर्फको विद्युत चुहावट ७.४९ प्रतिशतमा झरेको प्राधिकरणको दाबी

Kumari bank ad

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ७.४९ प्रतिशतमा झारेको छ ।

नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्षको मंसिरसम्मको वितरणतर्फको संचित चुहावटको तुलनामा यस वर्ष १.७४ प्रतिशत विन्दुले घटाइएको छ । गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत चुहावट ९.२३ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत चुहावट १०.८६ प्रतिशत थियो ।

चालू आवको मंसिरसम्ममा वितरण प्रणालीमा ४ अर्ब १४ करोड ७५ लाख युनिट विद्युत प्राप्त भएकोमा ३ अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत बिक्री भएको छ । ३१ करोड ७ लाख ७९ हजार युनिट विद्युत चुहावट भएको छ ।

मंसिरसम्म प्रसारण लाइनतर्फको चुहावट ४.५६ प्रतिशत छ । प्रसारण र वितरणतर्फ गरी मंसिरसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १२.०५ प्रतिशत छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो ।

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकोमा अहिले घटाएर ७.४९ प्रतिशतमा झार्न सफल हुुनु ठूलो उपलब्धि भएको बताउनुभयो । प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको  कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे ।

‘यस अवधिमा नयाँ सबस्टेसन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ हुँदा  चुहावट घटेको हो’, घिसिङले भने, ‘हुकिङलगायतबाट हुने विद्युत चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही, ओभरलोड भएका सबस्टेसन, र फिडर लाइनहरूको सुदृढीकरण तथा नयाँ सबस्टेसनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा हो ।’

जाडोमा पहाडी  र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्न सक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिंदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए ।

सबस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने,ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गर्नेलगायतका कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो । गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ ।

सबैभन्दा बढी विद्युत चुहावट मधेस प्रदेशमा

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको  छ । प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रहरूको मंसिरसम्ममा समग्र विद्युत चुहावट १२.८० प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा १२.९७ प्रतिशत थियो । सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४४.८३ प्रतिशत विद्युत चुहावट रहेको छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत चुहावट ४३.८२ प्रतिशत थियो ।

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत चुहावट ४०.५५ प्रतिशत रहेको थियो । गत वर्ष त्यस केन्द्रको चुहावट ७.२२ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत चुहावट ३७.८२ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९.८० प्रतिशत थियो । महोत्तरीको जलेश्वर वितरण केन्द्रको चुहावट गत वर्ष ३७.६१ प्रतिशत रहेकोमा यस वर्ष ३४.५१ प्रतिशत रहेको छ ।

प्रदेश नं १ प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको मंसिरसम्मको समग्र विद्युत चुहावट ७.४२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट ९.९४ प्रतिशत थियो । प्रादेशिक कार्यालय अन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट मोरङको रङगेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत चुहावट २०.५२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष १५.६० प्रतिशत थियो ।

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौडा मातहतका ६ वटा वितरण केन्द्रहरूको  अघिल्लो वर्षको मंसिरसम्ममा ४ प्रतिशत रहेको समग्र विद्युत चुहावट यस वर्ष सोही अवधिमा ४.५३ प्रतिशत रहेको छ । डिभिजन कार्यालय अन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६४ प्रतिशत विद्युत चुहावट रहेको छ । गत त्यस केन्द्रको ३०.१४ प्रतिशत चुहावट थियो ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रहरको समग्र विद्युत चुहावट ५.३३ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ७.४७ प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाडौं मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २१.३७ प्रतिशत चुहावट रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको ३१.९३ प्रतिशत चुहावट थियो ।

गण्डकी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रहरूको गत वर्षको मंसिरसम्मको समग्र विद्युत चुहावट ७.९१ प्रतिशत रहेकोमा यस वर्ष ६.४३ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष ५.७१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४१.७८ प्रतिशत पुगेको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रहरूको समग्र विद्युत चुहावट  ६.०२ प्रतिशत रहेको छ । गत वर्ष ९.४८ प्रतिशत थियो । कार्यालय अन्तर्गत  सबैभन्दा बढी चुहावट गुल्मी वितरण केन्द्रको १९.७९ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १९.९९ प्रतिशत थियो ।

लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका ९ वटा वितरण केन्द्रहरूको गत वर्षको मंसिरसम्ममा ७.८० प्रतिशत रहेकोमा यस वर्ष ३.९७ प्रतिशत रहेको छ । कार्यालय अन्तर्गत सबैभन्दा बढी विद्युत चुहावट रोल्पा वितरण केन्द्रको १४.९० प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १९.२९ प्रतिशत थियो ।

कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ७ वटा वितरण केन्द्रहरूको समग्र विद्युत चुहावट १०.५८ प्रतिशत रहेको छ । गत वर्ष १३.३२ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ । केन्द्रको चुहावट गत वर्ष २७.१३ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६.६५ प्रतिशत पुगेको छ ।
सुदूरपश्चिम प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रहरूको मंसिरसम्मको समग्र विद्युत चुहावट ५.९८ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा चुहावट ५.७६ प्रतिशत थियो । कार्यालय अन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको रहेको छ । गत वर्ष १९.७७ प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष बढेर २१.९१ प्रतिशत पुगेको छ ।

वि.सं.२०७९ माघ ६ शुक्रवार १०:०३ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...