काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ६ दशमलव ९५ प्रतिशत पुगेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत रहेको थियो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा मुद्रास्फीति २ दशमलव ७६ प्रतिशतले बढी हो।
नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति (मूल्यवृद्धि) ८ दशमलव ०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६ दशमलव १२ प्रतिशत रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि जान नदिने घोषणा गरेको भए पनि आर्थिक वर्षको पहिलो महिनामै मुद्रास्फीति सरकारको लक्ष्यभन्दा प्रतिकुल देखिएको छ।
साउन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
काठमाडौं उपत्यकामा ८ दशमलव ६३ प्रतिशत, तराईमा ६ दशमलव ४६ प्रतिशत, पहाडमा ५ दशमलव ९२ प्रतिशत र हिमालमा ५ दशमलव ५७ प्रतिशत मुद्रास्फीति रहेको छ ।
२०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३ दशमलव ४९ प्रतिशत, ४ दशमलव १४ प्रतिशत, ५ दशमलव २६ प्रतिशत र २ दशमलव ७४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
साउनमा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ९५ प्रतिशत रहेकोमा भारतमा अगस्ट महिनामा यस्तो मुद्रास्फीति ३ दशमलव २१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४ दशमलव १९ प्रतिशत र भारतको ३ दशमलव ६९ प्रतिशत रहेको थियो ।
२०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७ दशमलव ०२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६ दशमलव ४० प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा प्राथमिक वस्तु, इन्धन तथा ऊर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३ दशमलव १० प्रतिशत, ६ दशमलव ५९ प्रतिशत र ३ दशमलव ४५ प्रतिशत रहेको छ ।
प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्यवृद्धि उच्च रहेको छ ।
२०७६ असोज ०७ गते प्रकाशित
वि.सं.२०७६ असोज ७ मंगलवार १७:५१ मा प्रकाशित