काठमाडौं । साधारणतया शेयर खरिदबिक्री दुई प्रकारबाट गरिन्छ । प्राथामिक बजार र दोस्रो बजारबाट कुनै पनि कम्पनीको शेयर खरिद बिक्री गरिन्छ ।
कम्पनीको पूँजी वृद्धिका लागि जारी भएको हकप्रद शेयर बिक्री नभएमा उक्त शेयरलाई पुनः बोलकबोल प्रकृया मार्फत शेयर बिक्री गनुलाई शेयर लिलामी भनिन्छ ।
यसरी शेयर खरिद बिक्री गर्दा गोप्य रुपमा आफूले इच्छाएको मूल्यमा उक्त शेयर माग गरिन्छ । यसरी शेयर खरिद गर्दा ब्रोकर कमिसन भने तिर्नु पर्दैन् ।
दोस्रो बजारबाट शेयर खरिद गर्दा ब्रोकर कमिसन तिर्नुपर्ने भएकाले शेयरको मूल्य महँगो पर्ने हुनसक्छ । तर कम्पनीको शेयर लिलामी बिक्री खुल्ला भएको समयमा शेयर खरिद गर्दा भने तुलनात्मक रुपमा सस्तो पर्न सक्छ ।
यद्यपि उक्त शेयरको मूल्य बोलकबोल गर्दा भने दोस्रो बजारमा चलेको मूल्यलाई मध्यनजर गर्दै मूल्य तय गर्दा राम्रो हुन्छ । यसरी लिलामी प्रकृयाबाट शेयर जतिबेला पनि खरिद गर्न भने सकिदैन ।
हकप्रद निष्काशनका लागि तोकिएको समयभित्रमा निष्काशन गरिएको सबै शेयर बिक्री नभएमा कम्पनीले लिलामी शेयरहरु छोटो समयका लागि मात्रै बिक्री खुल्ला गर्दछ । सोही समयमा मात्र लगानीकर्ताले लिलामी शेयर खरिद गर्न सक्नेछन् ।
लिलामी शेयर खरिद गर्ने फाराममा आपूmले चाहेको शेयर कित्ता र आफ्नो मूल्य राखेर बोलकबोल गर्न सकिने छ । लिलामी फाराम कम्पनीले तोकेको शेयर बिक्री प्रबन्धकको कार्यालय तथा स्वयम् शेयर निष्काशन गर्ने कम्पनीबाट प्राप्त गर्न सकिन्छ । प्रत्येक फारामको शूल्क एक सय रुपैयाँ लाग्छ ।
प्राप्त फाराम भरिसकेपछि कम्पनीले उल्लेख गरेका सम्पूर्ण कागजातहरु संलग्न गरी तोकिएको समयमा बुझाउनुपर्छ । साथमा खरिद गर्न चाहेको शेयरको कुल रकम बापत निवेदकले उल्लेखित बैंकको खातामा रकम जम्मा गरिदिनुपर्ने हुन्छ अथवा फारमसँगै ‘गुड फर पेमेन्ट चेक’ बुझाउनुपर्ने हुन्छ ।
यसरी बोलकबोल प्रकृयामा सबैभन्दा बढी मुल्य बोली लगाउने लगानीकर्तालाई नै माग गरे बमोजिमको शेयर दिईन्छ । यदि दुई वा दुईभन्दा बढी लगानीकर्ताले एउटै मूल्यको बोली लगाएको खण्डमा मिलाएर शेयर बाँडफाँड गरिन्छ । शेयर नपरेका लगानीकर्ताहरुलाई भने उनीहरुले आवेदन गरेको रकम फिर्ता गरिन्छ ।
वि.सं.२०७६ चैत २६ बुधवार १०:०६ मा प्रकाशित