मानिस स्वभावैले नयाँ ठाउँ र नयाँ बस्तु हेर्न लालायित हुन्छ । नयाँ ठाउँको बारेमा अयन्त्रका मानिसलाई आकर्षण गर्न सक्नु पर्छ । त्यो आकर्षणको केन्द्र भनेको हामीसंग भएको अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता, बहुजातीय, बहुभाषीय, बहुधार्मिक र सामाजिक विविधता एवं ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल, विश्व पर्यटन मानचित्रमा प्रमुख पर्यटकीय गन्तव्यस्थलको रुपमा सुपरिचत रहेको देवचुली पनि हो ।
हाभारत पवर्त श्रृखलाको सबैभन्दा अग्लो चुचुरो देवचुली नै यस नगरपालिकाको नाम र शान दुबै हुन । दीगो पर्यटन नीति र क्रमिक विकासको सिद्धान्त अवलम्वन गरी काम गर्दै जाने हो भने समग्र जिल्लाको पर्यटन विकास गर्न सकिने देखिन्छ । तर त्यसका लागि सरकार, नीजि क्षेत्र तथा दातृ निकायहरुसँगको सहकार्य जरुरी छ र स्थानीय जनताहरुको उल्लेखनीय सहभागिता आवश्यक पर्दछ । धार्मिक, ऐतिहासिक, पुरातात्वीक तथा मनोरंजनात्मक स्थलहरुको अवस्थितिका कारण देवचुली नगरपालिकामा पर्यटकीय विकासको उपयुक्त आधार छ ।
थारु र मगर संस्कृति यहाँको लोकप्रिय तथा जिल्लालाई आर्कषण गर्ने संस्कृति हुन् । विज्ञान, प्रविधि र संचार प्रणालीमा भएको अभूतपूर्व विकासले समुच्च विश्व नै एउटा गाँउको रुपमा परिणत हुँदै गइरहेको अवस्थामा नेपालले यस्ता राष्ट्रिय सम्पदालाई विश्व सामु प्रस्तुत गर्दै विश्व पर्यटन बजारलाई आकर्षित गरि अत्याधिक लाभ लिन सक्ने क्षमता अभिबृद्धि गर्नु आवश्यक छ ।
९९ किलोमिटर लामो राजमार्ग रहेको नवलपरासी तराई, पहाड र भित्री मधेशको संमिश्रण हो । त्रिवेणी धाम, नारायणी धाम, मौलाकालिका, दाउन्ने देवी, पाल्ही भगवती, पण्डितपुर, ऐतिहासिक महलपोखरी, नन्दन ताल, रामग्राम स्तुप, घुमाउरी घाट, देवचुली डाँडा, आदी यहाँका प्रमूख पर्यटकीय स्थलहरु हुन् ।
पर्यटन व्यवसाय आफैमा राष्ट्रिय अर्थतन्त्रको विकासको प्रमुख आधार भएकोले यस व्यवसायको विविधिकरण र विस्तारद्वारा आम नागरिकको जीविकोपार्जन र रोजगारीको अवसरमा वृद्धि गरि जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य भएको छ ।
यसको प्रयोगका लागि एकातर्फ नेपालका यी विविध सम्पदाको समुचित संरक्षण र सम्बद्र्धन गर्नु अत्यावश्यक भएको छ भने अर्को तर्फ अन्तर्राष्ट्रिय हवाई यातायात सेवा लगायत पर्यटन सेवासँग सम्बद्ध सवै प्रकारका पुर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवं गुणात्मक वृद्धि गर्नु आवश्यक छ । जिल्लाको परिप्रेक्षमा पर्यटन नीति बनाई मुलुककै पर्यटन विकासमा योगदान गर्न आवश्यक छ । पर्यटकीय क्षेत्र मार्फत दीगो गाउँ बनाउने सक्नु पर्छ । हाम्रा गाउँहरुलाई पर्यटकीय गाउँको रुपमा परिणत गर्नुपर्छ त्यस मार्फत गरिबी निवारण गर्न सक्दा समृद्ध देश बनाउन सकिन्छ ।
देवचुली डाँडा ऐतिहासिक धार्मिक र प्राकृतिक महत्वको क्षेत्र हो । समुद्र सतह देखि १९३६ मिटर अग्लो रहेको यो ठाउँको विकासले यहाँका बासिन्दाको जीवनस्तर माथि उठाउन सहयोग पुग्छ । दलदले बुलिङटार हुदै तनहुँको भिरकोटबाट सिधैं पोखरा पुग्न सकिने स्थल मार्ग समेत निर्माण हुदै गएको छ । यसले यहाँ आउनेहरुलाई सहज बनाउछ । देवचुली थारु र मगर समुदायको आस्थाको धरोहर हो । थारुहरुले यसलाई कुमारवर्ती माईको रुपमा पुज्ने गर्दछन् भने । मगरहरुले तीन कन्या माईको रुपमा । पहाड र समथर ठाउँका यी दुई जातिको धार्मिक आस्था समेत यहाँ जोडिएको छ । त्यसको अलावा प्राकृतिक रुपमा समेत यसले जो कोही लठ्याउने गर्दछ ।
देवचुली क्षेत्रमा आउने पर्यटकहरुलाई हामीले कम्तीमा पनि तीन दिनको बसाइका लागि कार्यक्रमहरु बनाउन आबश्यक छ । त्यसका लागि हामी संग गर्मीमा चिसो मौसम र जाडोमा विहानै घाम देख्न पाइनेछ । त्यो संगै पर्यटकको सुबिधाका लागि कार्यक्रमहरु बनाउन लाग्नु पर्छ ।
२०६३ साल असोजमा नेपाल पर्यटन पत्रकार मञ्च नवलपरासीले उद्योग बाणिज्य संघ नवलपरासीको सभाहलमा तत्कालिन प्रमुख जिल्ला अधिकारी माधब रेग्मी, स्थानीय विकास अधिकारी टिकाराम घिमिरे लगाएको सहभागीतामा पर्यटनको विकासका बारेमा बृहत्त अन्तरक्रिया गर्र्यो । त्यही अन्तरक्रियाबाट आएका सकारात्मक बिचारहरुलाई पर्यटन प्रबद्र्धनका कार्यक्रमहरुको रुपमा जिल्ला विकास विकास समितिले ग्रहण गर्न थाल्यो । त्यसपछि देवचुलीमा पर्यटकीय पूर्वाधारहरुको निर्माणहरु भइरहेका छन् ।
देवचुलीको चचुरोमा भ्यूटावर, ठाउँ ठाउँमा बिसौनी, पश्चिम तर्फको रुद्रपुर गढी नजिकै गोलपोखरी शान्ति पार्कको निर्माण भएका छन् । १८०० मिटर अग्लो ठाउँमा मन्दिरको निर्माण भइरहेको छ ।
जिल्लामा भएका पर्यटकीय क्षेत्रको पूर्बाधार विकासमा जिल्ला विकास समिति नवलपरासीले वि.स. २०६६ सालमा पर्यटन गुरु योजना निर्माणको कार्य थालेपनि त्यसको पूर्णता हुन नसक्दा कागजी रुपमा मात्र रहेको छ । अव यसरी बनाइएका योजनाको कार्यान्वयन पाटोमा लाग्न आबश्यक छ । गुरु योजना पुरा गरी लाग्दा देवचुलीको विकासले पर्यटनको क्षेत्रमा फड्को मार्छ ।
वर्तमान अबस्था
कुनै पनि ठाउँलाई पर्यटकीय गन्तव्य स्थल तथा पर्यटकीय सम्पदा संरक्षण, पर्यटकको सुरक्षा,सेवा सुविधाको संख्यात्मक र गुणात्मक वृद्धि,पर्यटकीय पूर्वाधार विकास सम्बन्धी विषयमा सरकार तथा निजी क्षेत्र वीच समन्वयात्मक भूमिका आबश्यक हुन्छ । स्रोतको बाँडफाँड र उपयोग जस्ता कुरामा समानता नहुदा पर्यटकीय स्थलहरुमा सडक, खानेपानी, विद्युत,संचार जस्ता पुर्वाधार निर्माणमा प्रत्यक्ष रुपमा संलग्न निकाय र संस्था वीचको समन्वयमा अपेक्षित प्रभावकारीता देखिएको छैन ।
पर्यटन पूर्वाधार विकास, सञ्चालन र प्राप्त लाभको बाँडफाँडमा स्थानीय समुदाय र नागरिको भूमिका, मूल्य, मान्यता र स्वामित्वको विषय उचित रुपमा संबोधन हुन सकेको छैन । भने अर्को तिर सरकारी स्तरबाट समेत पर्यटकीय ठाउँहरुमा पूर्वाधार विकासका काम खासै काम नै भएका छैनन् । सरकारी स्तरबाट लगानी र विकास भएका पूर्वाधारको दिगो रुपमा संरक्षण र उपयोग हुन सकेको छैन । । प्रयाप्त मात्रामा पर्यटकको आगमन भएमा पुर्वाधारको विकास गर्ने वा पूर्वाधारको विकास भएमा पर्यटकको संख्या वृद्धि हुने विषयमा देखिएको अन्योलता यथावत रुपमा रहेको छ । यस्तो अन्यौललाई चिर्न पर्यटन विकाससंग सम्बद्ध संरचनाको निर्माण एवं पुन निर्माण गर्नुपर्छ ।
पर्यटन व्यवसायका सम्भावना
पर्वतारोहण
देवचुली र बरचुली चुचुरालाई पदयात्रा चुली९त्चभपपष्लन एभबपक०का रुपमा प्रबद्र्धन गर्न सकिन्छ । पदयात्राको लागि मौलाकालिका मन्दिर देखि हात्तिगौडा हुदै बरचुली देवचुली,रुद्रपुरगढी संगै घोरल पाइने क्षेत्र हुदै पाल्पाको झिरुवास सम्म हुन सक्छ । नवलपरासी जिल्लाको पहाडी गाविसहरुका बासिन्दा (मगर) को मौलिक संस्कृतिमा रमाउदै पदयात्रा गर्दा पर्यटकले आनन्द पाउछन् । पदयात्राका बीच बीचमा यहाँका गाउँ संस्कृति संगै प्राकृतिक सौन्दर्य संग पर्यटकहरु रमाउन पाउछन् ।
साहसिक पर्यटन
जल, स्थल र वायुमा आधारित ,मनोरन्जनपूर्ण क्यान्योनिङ ,¥याफ्टिङ, बन्जीजम्पिङ्ग, प्याराग्लाइडिङ, जस्ता साहसिक कृयाकलापहरु जिल्लाका विभिन्न क्षेत्रमा गर्न सकिन्छ । देवचुली बरचुली लगाएका ठाउँबाट प्याराग्लाइडिङ गर्न सकिन्छ । बन्जीजम्पिङ्गका लागि पनि यहाँ उत्तिकै सम्भावना छ । यस कार्यकालागि निजी क्षेत्रलाई आकर्षण गर्नुपर्छ ।
साँस्कृतिक पर्यटन
यहाँ आदिवासी जनजाति समुदायको मौलिक संस्कृतिलाई समेटी सांस्कृतिक पर्यटनलाई जोड दिन सकिन्छ । स्थानीय बासिन्दा र स्थानीय निकायलाई सक्रिय बनाउन सक्दा यहाँ जातिय संस्कृतिको संरक्षण हुने र त्यसले पर्यटकको आकर्षण गर्छ । थारु ,मगर लगाएका आदिवासी जनजाति समुदायको संस्कृतिले पर्यटकलाई लोभ्याउने हुदा उनीहरुको साँस्कृतिक पक्षको संरक्षणमा समेत जोड दिन आबश्यक छ । यस्ता बस्तीहरुलाई होम स्टेको रुपमा विकास गर्न सकिन्छ । यसले प्रत्यक्ष रुपमा नागरिकले लाभ हासिल गर्दछन् ।
पर्या–पर्यटन
जैविक बिबिधताको धनी यस क्षेत्रमा पर्या –पर्यटनको सम्भावना पनि उत्तिकै छ । संरक्षित र आरक्षित क्षेत्रहरु एवं राष्ट्रिय निकुञ्जहरुमा पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । विद्यमान जौविक विविधता एवं वन्यजन्तु अवलोकनलाई पर्यटकीय उपजको रुपमा विकास,विस्तार र प्रबद्र्धन गर्न सकिन्छ ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु तर्फ आकर्षित उच्च आय वर्गका पर्यटकलाई ग्रामीण पर्यटन तर्फ समेत आकर्षित गर्न सकिन्छ । पद यात्रामा रमाउनेहरुका लागि महाभारतको क्षेत्रको पर्यावरणीय सौन्दर्यताले आकर्षण गर्छ । यहाँका सामुदायिक वन पनि पर्यापर्यटनको गन्तब्य हुन सक्छ । देवचुली नगरपालिकाको महाभारत क्षेत्र देखि घोरलको बाक्लो बासस्थान पाइन्छ यसलाई घोरल आरक्षण केन्द्रको रुपमा विकास गर्न सकिन्छ ।
कृषि पर्यटन
खास किसिमका बस्तु उत्पादन हुने स्थानमा “एक गाउँ एक उत्पादन”९इलभ ख्ष्ििबनभ इलभ एचयमगअत० कार्यक्रम संचालन गर्नुपर्छ । यसका माध्यमले कृषि पर्यटनको प्रबद्र्धन हुन्छ । राइकोटको सुन्तला, छरछरेको अलैंची, पहाडी गाविसको अदुवा, मास, भट्ट तराई क्षेत्रमा गरिने केरा, च्याउ, मौरी लगाएका खेती कृषि पर्यटनलाई अगाडि बढाउन सकिन्छ ।
अन्तमा
दीगो पर्यटन नीति र क्रमिक विकासको सिद्धान्त अवलम्वन गरी काम गर्दै जाने हो भने समग्र जिल्लाको पर्यटन विकास गर्न सकिने देखिन्छ । तर त्यसका लागि सरकार, नीजि क्षेत्र तथा दातृ निकायहरुसँगको सहकार्य जरुरी छ र स्थानीय जनताहरुको उल्लेखनीय सहभागिता आवश्यक पर्दछ । धार्मिक, ऐतिहासिक, पुरातात्वीक तथा मनोरंजनात्मक स्थलहरुको अवस्थितिका कारण देवचुली नगरपालिकामा पर्यटकीय विकासको उपयुक्त आधार छ । त्यसका लागि यहाँको निजी क्षेत्र उद्योग बाणिज्य संघ , होटल ब्यवसायी, र नगरपालिकाले ध्यान दिनुपर्छ । महाभारत पवर्त श्रृखलाको सबैभन्दा अग्लो चुचुरो नै देवचुली नै यस नगरपालिकाको नाम र शान दुबै हुन भन्ने कुरालाई ख्याल राख्न आबश्यक छ ।
( लेखक : नेपाल पर्यटन पत्रकार मञ्चका अध्यक्ष हुन् )
१७ माघ, २०७२ /६:५६:५५
वि.सं.२०७२ माघ १७ आइतवार १९:२७ मा प्रकाशित