
काठमाण्डौं । कतै तपाईले नयाँ प्रणाली अनुसार किनेको डीम्याट सेयर हराइरहेको त छैन ? सेयर किनेपछि खातामा सेयर जम्मा नभएर हैरान हुनु भएको छ कि ? अहिले सेयर किने पनि आफ्नो खातामा लामो समयसम्म शेयर जम्मा नभए पछि लगानीकर्ता अन्यौलमा परेका छन् ।
लगानीकर्ताले शेयर दलाल मार्फत डीम्याट सेयर किने पछि तीन कार्य दिन भित्र खरिदकर्ताको खातामा शेयर जम्मा भैसक्नु पर्छ । तर खरिदकर्ताले लामो समयसम्म आफ्नो खातामा खरिद गरेको सेयर जम्मा भएको नपाउनुको मुख्य दुई कारण हुन सक्छन् । पहिलो कारण सेयर बिक्रेताको खातामा बेचिएको शेयर नै नहुँदा खरिदकर्ताले समयमा शेयर नपाएको हुन सक्छ । त्यसै गरि बिक्री गर्ने व्यक्ति र दलालले सेयर खरिद गर्ने दलालको पुल एकाउण्टमा सिडीएस र निक्षेप सदस्य मार्फत शेयर जम्मा गराइसकेको भए पनि सेयर दलालले खरिद गर्ने व्यक्तिको खातामा शेयर जम्मा नगरी दिएको हुन सक्छ ।
पहिले त सेयर किन्नेको खातामा शेयर पठाउने काम शेयर किनाउने दलालले गर्दछ । खरिदकर्ताको खातामा सेयर जम्मा नभए शेयर किनाउने दलालको पुल एकाण्टमा हुन सक्छ । खरिदकर्ताले यसका लागि दलाललाई जानकारी गराएर आफ्नो सेयर खोज्नुपर्छ ।
किनाउने दलालको पुल एकाउण्मा पनि सेयर भेटिएन । यो अवस्थामा सेयर बेचाउने दलालको पुल एकाउण्टबाट शेयर किनाउने दलालको पुल एकाउण्टमा सेयर नपठाइएको हुन सक्छ । यसलाई खरिदकर्ताको पहलमा किनाउने दलालले बेचाउने दलाललाई अवगत गराए पछि सेयर जम्मा हुन सक्छ ।
१९ बैशाख २०७३, १०।००
वि.सं.२०७३ वैशाख १९ आइतवार ११:१५ मा प्रकाशित