
गुलरिया(बर्दिया)। जिल्लामा हालसम्म साना ठूला गरी दुई हजार ५५२ वटा उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार दर्ता भएका उद्योगमा ३० प्रतिशत होटेल रेस्टुराँ, २० प्रतिशत राइस मिल र १५ प्रतिशत कृषि फर्म रहेका छन् । त्यसैगरी दर्ता भएका १० प्रतिशत फर्निचर उद्योग तथा समिल र बाँकी अन्य उद्योग रहेका सूचना अधिकारी रामराज गौतमले जानकारी दिनुभयो ।
यस वर्ष २८६ वटा उद्योग दर्ता भएका छन् । जेठ र असार उद्योग दर्ताका लागि अनुपयुक्त समय मानिन्छ । सूचना अधिकारी गौतमका अनुसार पूरै आर्थिक वर्षको आन्तरिक राजस्व तिर्नुपर्ने हुँदा यो समयमा प्रायः नयाँ उद्योग दर्ता नगरी एकैचोटी साउनमा दर्ता गराउने चलन छ ।
घरेलु तथा साना उद्योग कार्यालयको गत वर्षको भन्दा यस वर्ष राजस्व सङ्कलनमा कमी आएको छ । गत वर्ष कार्यालयले रु ९० लाख राजस्व उठाएको थियो भने यस वर्ष अहिलेसम्म रु ५० लाख सङ्कलन गरिएको छ ।
प्रकाशितः २०७३ जेठ १५
वि.सं.२०७३ जेठ १५ शनिवार १५:०१ मा प्रकाशित