
काठमाण्डौं । दसैंमा तरकारी तथा फलफूलको मुल्य नबढ्ने भएको छ । हिजो बिहीबार आपूर्ति मन्त्रालयमा सरकारद्वारा खुद्रा तथा थोक तरकारी फलफुल व्यवसायीसँग छलफल गरी चाडपर्व भरी तरकारीको मुल्य नियन्त्रण गर्ने निर्णय भएको हो ।
अब सरकारले व्यवसायीसँग समन्वयन गरेर दसैंका लागि आलु, प्याज, अदुवा, लसुन लगायतका लामो समयसम्म स्टक गर्न मिल्ने तरकारीमा निश्चत मुल्य तोक्नेछ। आपूर्ती मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कालिमाटी तरकारी थोक व्यवसायी संघ, कृषि व्यवस्थापन विभाग, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समिति तथा खुद्रा तरकारी बजारका प्रतिनिधिको सहभागिता थियो ।
साल्ट ट्रेडिङले पनि सहुलियत पसलमा तरकारी र फलफूल बिक्री गर्ने भएको छ। उपत्यकामा सिंहदरवार, थापाथली, नख्खु, बल्खु, कंलकी, टेकु, कोटेश्वर, नारायणस्थान, बौद्ध, जोरपाटी, जावलाखेल र भक्तपुरमा सस्तो पसलबाट पनि तरकारी र फलफूल बिक्री भइरहेको छ।
१४ असोज २०७३, ११।००
वि.सं.२०७३ असोज १४ शुक्रवार ११:२३ मा प्रकाशित