
काठमाडौ । २५ मेगावाटको उत्पादन क्षमता रहेको माथिल्लो मादी जलविद्युत आयोजनाले मंसिर महिना भित्रै व्यावसायिकरुपमा बिजुली उत्पादन सुरु गर्ने भएको छ ।
‘आयोजनाको ९९ प्रतिशत काम सकिएको छ । कात्तिक अन्तिम साता परिक्षण उत्पादन गर्छौं र मंसिरदेखि नियमितरुमा बिजुली उत्पादन गर्छौं,’ आयोजनाका संयोजक राजकुमार बरालले भने ।
बरालका अनुसार आयोजनाको ४२ सय मिटर सुरुङ खन्ने काम सकिएको छ । सुरुङभित्रको भागमा कंक्रिट लाइनिङ गर्ने काम पनि ९० प्रतिशत सकिएको छ ।
टावरमुनि पर्ने जंगलमा रहेका रुख काट्न वन तथा भू(संरक्षण विभागबाट स्वीकृति आइसकेको र कात्तिक १५ गतेसम्म ती रुख पनि काटिसक्ने बरालले बताए ।
कास्कीको सिन्दुरेस्थित बाहुनडाँडामा निर्माण भई परीक्षण उत्पादनको चरणमा रहेको सो आयोजना स्वयंले प्रसारण लाइनको निर्माण पनि गरेको छ ।
आयोजना निर्माण गर्न ८ अर्ब रुपैयाँ खर्च भएको आयोजनाका व्यवस्थापक राजकुमार बरालले जानकारी दिए । सुरुमा ५ अर्ब २८ करोड रुपैयाँ भूकम्प, नाकाबन्दी र सुरुङ खन्दा पहिरो गएका कारण लागत बढेको हो ।
कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना थ्री गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानी छ । २०६९ साल पुसबाट शुरू भएको आयोजना ३० महिनामा सक्ने लक्ष्य थियो ।
प्रकाशित मितिः २०७३ कार्तिक १६
वि.सं.२०७३ कात्तिक १६ मंगलवार ११:३४ मा प्रकाशित