
पाल्पा। पाल्पाको प्रमुख नगदेबाली अदुवाले मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । दसैं तिहारका बेला अदुवाको राम्रो बजार मूल्यको खोजीमा रहेका किसानले अदुवाको मूल्य ओरालो लागेपछि झनै समस्यामा परेका हुन् । गत वर्ष प्रतिकिलो एक सय २० भन्दा माथि रहेको अदुवा अहिले ५० रुपैयाँभन्दा कम मूल्य भएपछि अदुवाको कारोबार प्रभावित भएको छ ।
विशेषगरी दसैं तिहारका बेला अदुवाको राम्रो मूल्य हुने गर्दथ्यो तर यसपालिको दसैंमा अदुवाको मूल्य झनै ओरालो लागेको किसानको भनाइ छ । पाल्पा मुभुङ्ग अदुवा सङ्कलन केन्द्रका सञ्चालकका अनुसार नयाँलाई प्रतिकिलो २० रुपैयाँ, पुरानोलाई प्रतिकिलो ५० रुपैयाँभन्दा कम मूल्य रहेकोले किसानलाई निकै मर्का परेको बताउँछन् ।
रु सयभन्दा बढी मूल्यमा खरिद गरी अदुवा रोपेका किसानलाई अहिले अदुवाको भाउ घटेपछि निकासी हुन सकेको छैन ।
जिल्लाका पश्चिम भैरवस्थान, कुसुमखोला, पालुङ्गमैनादी मुभुङ्ग, छहरा, सोमादी, भुवनपोखरी लगायतका गाविसबाट ठूलो मात्रामा अदुवा भारत निकासी हुने भएपनि यसपालि अदुवाको बजार राम्रो नभएपछि अदुवा किसानको बारीमा नै रहेको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक १८
वि.सं.२०७३ कात्तिक १८ बिहीवार ११:३२ मा प्रकाशित