
काठमाण्डौं । सेयर बजारमा सानादेखि ठूला र नयाँ एवं पुराना लगानीकर्ताहरुको चासो र चाप बढेसँगै नेपालको सेयर बजारमा छिटै नै नीतिगत, संस्थागत र प्रक्रियागत सुधारहरु हुने भएकोछ । यस अन्तर्गत एक, डेढ महिना भित्रमा अनलाईन कारोबार प्रणाली स्थापना गर्ने कुरा टुंगो लाग्ने भएकोछ ।
यसका साथसाथै, गैरआवासीय नेपाली र बिदेशी कम्पनीहरुललाई सेयर बजारमा भित्र्याउने प्रक्रिया पनि चाँडै स्पष्ट हुने नेप्सेले जनाएकोछ । त्यसै गरी सेयर बजारमा लगानीकर्ताहरको सहज पहुँचका लागि बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिन, थप क्लियरिङ बैंक थप्ने विषयमा धितोपत्र बोर्ड र नेप्से दुबैले सहमति जनाएका छन् । यसका साथसाथै, हालका सेयर दलालहरुलाई पचहत्तरै जिल्लामा पठाउने नीतिगत सहमति, ब्रोकर मार्फत सेयर धितो कर्जा लगायतका ठूला नीतिगत परिवर्तनका लागि नियमनकारी निकायहरुलाई थामिनसक्नु दबाब परेकाले उनीहरु अब सकेसम्म आपसमा समन्वय गरेर र कतिपय मामिलामा एक्लै निर्णय गरेर अगाडि आउने संकेत देखिन्छ ।
नेपालको सेयर बजारमा कागजी प्रमाणपत्रको बिस्थापन गरी पूर्ण अभौतिक प्रणाली अर्थात् डिम्याट प्रणाली लागु हुनु सेयर बजारमा भएको सुधारको एउटा राम्रो पक्ष हो । मार्केट डेप्थ सर्वसाधारण लगानीकर्ताको पहुँचमा पुग्नु, सेयर किनेको चौथो दिनमा सेयर खातामा आउनु र चौथो दिनमै सेयर बेचेको पैसा खातामा जम्मा हुनु, साधारण सेयर र हकप्रद आबेदन प्रक्रियामा भएको सरलीकरण, नेप्सेको कारोबार समय थप, बहु आबेदन, एकल खाताबाट रकम भुक्तानी बन्द, तोकिएको प्रक्रिया अनुसार काम नगर्ने सेयर दलाललाई कारबाही, ठगी नियन्त्रण, सेयर नपरेको पैसा खातामै फिर्ता जाने लगायतका महत्वपूर्ण परिवर्तन भईसकेका छन् ।
हालै धितोपत्र निश्काशन नियमावलीमा परिवर्तन र माघ १ गतेदेखि सेयर आबेदन गरेको रकम सम्बन्धित लगानीकर्ताको खातामै रोक्का रहने आश्बा प्रणाली कार्यान्वयनले सेयर बजारलाई अरु ब्यवस्थित गर्नेछ ।
३० कार्तिक २०७३, १२।००
वि.सं.२०७३ कात्तिक ३० मंगलवार १२:४५ मा प्रकाशित