
काठमाडौ । पाँचथर हाइड्रोपावर १४.९ मेगावाटको हेवाखोला, जुन उत्पादनको अन्तिम चरणमा रहेको छ । हाइड्रोपावरले मंसिर १० गतेबाट आफ्नो उत्पादन राष्ट्रिय प्रशारण लाईनमा जोड्ने गरि अन्तिम तयारी पुरा गरेको जनाएको छ ।
यस सम्बन्धमा हाईड्रोपावरका लगानीकर्ता बलबहादुर तामाङसँग अर्थतन्त्रका लागि हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित संपादित अंशः
बलबहादुर तामाङ,लगानीकर्ता, हेवाखोला हाईड्रोपावर
प्रशारण लाईनमा हामीले मंसिर दश गतेबाट सुरु गर्छौं । प्राबिधिकरुपमा केहि कार्यहरु तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । रंगहरु लगाउने काम बाहेक उत्पादन गृहबाट प्रशारण लाईन(शव स्टेसन)सम्म लैजाने काम अर्थात् लाईन तान्ने सबै तयारी पुरा भएको छ । त्यहाँ उमेश श्रेष्ठ अध्यक्ष हुुनुहुन्छ । उहाँको नेतृत्वमा त्यो लगानी छ । त्यो लगानी अहिलेसम्म पब्लिकलाई दिएका छैनौं । अब एक वर्ष भित्रमा त्यो पब्लिकलाई पनि शेयर दिने गरि आउनेछ ।
भूकम्प र नाकाबन्दीले ६ महिना ढिलाई
हेवाखोलामा उत्पादन ढिलो हुनुको मुख्यरुपमा दूई कारण छन् । भूकम्प र भारतले लगाएको नाकाबन्दीका कारण पनि केहि समय पछाडि धकेलियो । साँढे तीन वर्षमा पुरा गर्ने जुन लक्ष्य राखिएको थियो त्यो पुरा भएन । करिब ४ वर्षमा हामीले त्यो उत्पादन सकेका छौं । लगानीको लागि समस्या रहेन तर बाह्य कारण ढिलाई हुन पुगेको हो ।
प्रतिमेगावाट २ करोड लागत बढ्यो
एक मेगावाट बराबर १४ करोडले सक्ने भन्ने अनुमान थियो । बाह्य अबरोधका कारण १४ करोडमा सकिएन । अहिले १६ करोडमा पुरा हुने अभियान छ । जेठमा बिद्युत् बेच्नुपर्ने त्यो बेच्ने काम सकिएन । अहिले हामीले लगानीकर्ताबाट बैंकलाई ब्याज तिर्ने पैसा उठाएका छौं ।
२० दिन निशुल्करुपमा सरकारलाई बिजुली
हामी मंसिर १० गते परिक्षण उत्पादन सुरु गर्छौं । तापनि मंसिर अन्त्यबाट राष्ट्रिय प्रशारण लाईनमा बेच्न सुरु गर्छाैं । २० दिन हामी निशुल्करुपमा सरकारलाई बिजुली दिन्छौं ।
प्रशारण लाईन नबन्दा उत्पादनको आधा बिजुली खेर जाने अवस्थामा
यो ३३ मेगावाटको प्रशारण लाईनबाट राष्ट्रिय नेटवर्कमा जोडिन्छ । अहिले कावेली कोरिडोरको प्रशारण लाईन नबनेका कारण बिद्युत् खेर जाने अवस्थामा छ । उत्पादनको आधा मात्र बिक्री हुने अवस्था छ । त्यसकारण प्रशारण लाईन बनाउन इलामदेखि पाँचथरसम्म १२० वटा पोलहरु गाड्नुपर्नेमा करिब ४० वटा पोलहरु गाडिएको छ । समस्याकोरुपमा प्रशारण लाईनले अप्ठेरो पारेको अवस्था छ । लगानीको हिसाबले व्यक्तिको लगानी भएकाले बैंकको ब्याजको कारण समस्या छ । त्यसकारण सरकारले सबै ठाउँमा प्रशारण लाईन नपुर्याएको अवस्थामा लगानीकर्तालाई अप्ठेरो पार्ने अवस्था छ ।
पब्लिक लिमिटेडमा लगेर सर्वसाधारणलाई १५ करोडको सेयर
हाम्रो क्षेत्रमा ४ जनाको २४ प्रतिशत सेयर होल्ड छ । एलपी सावा लिम्बु, नरेश केलाल, म( बलबहादुर तामाङ) र रघु पुरी । एलपी सावा लिम्बु र रघु पुरी दुई जना संचालकमा पठाउँछौं । म लगानीकर्ता मात्र छु । हामी यसलाई पब्लिक लिमिटेडमा लैजाँदैछौं । एक वर्षभित्रमा सर्वसाधारणलाई १० प्रतिशत सेयर दिन्छौं । स्थानीय सहितलाई १० प्रतिशत भन्नाले १५ करोड रुपैंया बराबरको सेयर दिनेछौं ।
प्रकाशित मितिः २०७३ मंसिर ४
वि.सं.२०७३ मंसिर ४ शनिवार १५:०२ मा प्रकाशित