
काठमाण्डौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि सरकारले अब अनलाइन सिस्टमबाटै श्रम इजाजत लिने प्रणालीको सुरुवात गर्ने भएको छ । अबको १० दिनभित्र यस्तो सुविधा सहितको अनलाइन सिस्टम सुरुवात गरिने विभागले बताएकोछ ।
अनलाइन सिस्टम सुरु भएपछि श्रमका लागि उपत्यका र उपत्यकाबाहिरका जुनसुकै ठाउँबाट पनि अनलाइन आवदेन गर्न सकिनेछ । सबै प्रक्रिया टुंगिएपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारहरुले पासपोर्ट लिएर विभागमा जानु पर्नेछ ।
‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एर्फइआईएमएस) नाम दिएको यो सिस्टमबाट पहिलो चरणमा व्यक्तिगत रुपमा विदेश जान लागेका र श्रम इजाजत नवीकरणका लागि आएका युवाको कागजी दस्ताबेज अनलाइनमा बुझ्नेछ ।
सुरुवातमा व्यक्तिगत पहलमा आएको भिसामा विदेश जान चाहेका युवाले एर्फइआईएमएस सिस्टममा आफ्नो सम्पूर्ण व्यक्तिगत विवरण भर्नुपर्नेछ । यो इमेल आइडी बनाए जस्तै हुनेछ ।
यसमा आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरण लायात सबै कानुनी व्यक्तिगत डिटेल अनलाइनमा राख्नुपर्छ । यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आफ्नो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्छ । यो फेसबुक बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरेनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिकै प्रयोग गर्न सक्छन् ।
यो आइडी बनाएपछि आफु जान लागेको देशसहित त्यहाँको कम्पनीबाट आएको डिमान्ड लेटर, भिसा लगायत डकुमेन्ट, आफ्नो पासपोर्टको प्रतिलिपीसहित आवश्यक कागजात अनलाइनमा अपलोड गर्नुपर्छ । जसलाई विभागले अफिसियल अनलाइन डकुमेन्टका रुपमा स्वीकार गर्छ ।
यसैका आधारमा विभागले यो व्यक्ति कुन देशमा, कुन कम्पनीमा, के कामका लागि जान श्रम इजाजत मागेको हो भन्ने अनलाइन विवरण प्राप्त गर्छ । त्यसअनुसार अब विभागले सो व्यक्तिको श्रम इजाजतको प्रक्रिया अघि बढाउँछ । अनलाइन आवेदन गरेपछि तपाईंको प्रक्रिया प्रमाणित (एप्रोभ० भएको जानकारी विभागले कामदारकै इमेलमा पठाउँछ ।
त्यसपछि बैंकमा तोकिएको शुल्क जम्मा गर्न सकिनेछ । विभागले झण्डै २० वटा बैंकसँग कामदारले जहाँसुकैबाट रकम जम्मा गर्न सक्ने गरी सम्झौताको तयारी गरेको छ ।
त्यसपछि विदेश जानु अघि लनुपर्ने ओरियन्टेशन कक्षा लिनुपर्नेछ । वैदेशिक रोजगारीबारे ओरियन्टेशन लिने कक्षामा विद्युतीय हाजिरी मेसिन हुन्छ । त्यहाँ तपाईले ‘थम्प्स’ गरेपछि विभागमा यो जानकारी पुग्छ ।
मेडिकलका लागि पुग्दा पनि यसैगरी विद्युतीय हाजिरी हुनेछ । मेडिकलले पनि सम्बन्धित व्यक्तिको मेडिकल रिपोर्ट सरकारको सिस्टममा पठाउँछ ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिले गरेका बीमाका सबै रेकर्ड पनि यो सिस्टममा स्वतः जान्छ । यसका लागि विभागले बीमा कम्पनीहरुसँगको सहकार्यमा विशेष व्यवस्था गरेको छ ।
यी हरेक प्रक्रिया पुरा भएपछि सिस्टमले कामदारको इमेलमा नोटिफिकेशन पठाउँछ । यसका आधारमा कामदारले आफ्नो कागजी प्रक्रिया कहाँ पुगेको छ भन्ने सजिलै जाकारी पाउनेछन् ।
श्रम इजाजत नवीकरण गर्नेले भने आरियन्टेशन र मेडिकल गर्नुपर्दैन । विदेश गएर फर्किएकाहरुको रेकर्ड विभागको सिस्टममा हुने भएकाले यो प्रक्रिया नभिएपनि नीकवरणलाई सिस्टमले प्रमाणित गर्नेछ ।
आफ्ना सबै प्रक्रिया टुंगिएको जानकारी इमेलमा पाएपछि सेवाग्राही विभागको कार्यालयमा पासपोर्ट लिएर जानुपर्नेछ । त्यसमा श्रम अधिकारीले श्रम स्वीकृति दिएर स्टीकर टाँसिदिनेछन् ।
१० मंसिर २०७३, १०।००
वि.सं.२०७३ मंसिर १० शुक्रवार ११:०३ मा प्रकाशित