काठमाडौं । लुम्बिनी जनरल इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा २५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा अघिल्लो वर्ष भन्दा ८.८३ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यसले २३ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद बिमा शुल्क भने १४.८३ प्रतिशतले घटेर ६६ करोड ३७ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष लुम्बिनीले ७७ करोड ९३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा २६ करोड ४९ लाख रुपैयाँ छ । चुक्ता पुँजी बढाउने अभियनामा रहेको लुम्बिनीले १७ लाख ६० हजार कित्ता (२०) हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ ।
हकप्रद निष्कासनपछि चुक्ता पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ । बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लुम्बिनीले हकप्रद ल्याउन लागेको हो ।
कम्पनीले बिमा कोषको आकार पनि २७.९२ प्रतिशतले बढाउन सफल भएको छ । लुम्बिनीको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ८४ पैसा रहेको छ ।
२०७६ साउन २९ गते प्रकाशित
वि.सं.२०७६ साउन २९ बुधवार १२:१० मा प्रकाशित