काठमाडौं । देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ । चालु आर्थिक बर्षको ६ महिनाको तथ्यांक हेदा अर्थतन्त्र कठिन मोडमा पुगेको स्पष्ट देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको बर्तमान आर्थिक अवस्थाको तथ्यांक हेर्ने हो भने बाह्य क्षेत्रको सुधारका लागि तत्काल कदम नचाले समस्या हुने देखिएको हो ।
शोधनान्तर घाटा ९३.१ प्रतिशतले बृद्धि
नेपाल राष्ट्र बैंकको ६ महिनाको तथ्यांक अनुसार व्यापारघाटा गत बर्षको सोही महिनाको तुलतामा ४६.६४ ले घटेर ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । जसका कारण भुक्तानी सन्तुलनमा चाप परी शोधनान्तर घाटा ९३.१ प्रतिशतले बढेको छ ।
गत आर्थिक बर्षको पहिले ६ महिनामा देशको शोधनान्तर घाटा १२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । तर चालु आर्थिक बर्षको ६ महिनामा शोधनान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा रहेको छ ।
आर्थिक बर्ष २०७७/७८ को ६ महिनामा कोभिडका कारण आयातमा कमी भएकोले भुक्तानी दिन नपरेको र सोही कारण शोधनान्तर बचतमा रहेको तर्क राष्ट्र बैंकका कर्मचारीहरुले दिदै आइरहेका छन् । तर आर्थिक बर्ष २०७६÷७७ मा शोधनान्तर २६ अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो ।
२ खर्ब ३३ अर्बले घट्यो विदेशी मुद्राको संचिति
त्यस्तै बैदेशिक मुद्राको संचिति ६ महिनामा २ अर्ब ३३ अर्ब २३ करोड रुपैयाँले घटेको छ । २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय संचिति १६.७ प्रतिशतले कमी आई २०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ ।
त्यस्तै एक महिनामै विदेशी मुद्रा संचिति ४८ अर्ब २३ करोड रुपैयाँले घटेको छ । पुस महिनामा देशमा रहेको विदेशी मुद्राको संचितिले ६.६ महिनाको बस्तु तथा सेवा आयात धान्न पुग्छ । असारमा भएको संचितिले १०.२ महिनाको बस्तु तथा आयात धान्न पुग्ने थियो । यसबाट के देखिएको छ भने विदेशी मुद्राको संचितिमा आएको कमीले देशको अर्थतन्त्र धरापमा परेको छ ।
खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि
यो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी भने ४८.१ प्रतिशतले वृद्धि भईको राष्ट्र बैंकले जनाएको छ । पुस मसान्तसम्ममा नेपालमा प्रत्यक्ष बैदेशिक लगानी ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रुपैयाँ मात्र थियो ।
६ महिनामा चालु खाता घाटा ८४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५२ अर्ब १६ करोड रहेको थियो । निश्चित समयावधिभित्र आवासीय र गैर–आवासीय व्यक्ति÷संस्थाबीच भएका चालु प्रकृतिका आर्थिक कारोबारहरूको सारांश नै चालु खाता सन्तुलन हो । चालु खाता घाटाले अन्य देशहरूबाट खुद सापटी लिइएको र चालु खाता बचतले अन्य देशहरूलाई खुद सापटी दिइएको भन्ने बुझिन्छ ।
पुँजीगत आयात घट्यो
त्यस्तै नेपालमा भएको आयातमध्ये सवैभन्दा बढी आयात मध्यवर्ती बस्तुहरुमा भएको देखिएको छ । नेपालमा भएको आयातमध्ये ५३.७ प्रतिशत मध्यवर्ती आयात भएको छ । त्यस्तै १०.९ पूँजीगत वस्तु र ३५.४ प्रतिशत अन्तिम उपभोग्य वस्तुको आयात भएको देखिएको छ।
गत आर्थिक बर्षमा भने पुँजीगत आयात १२ प्रतिशत, ५२.६ प्रतिशत मध्यवर्ति आयात र उपभोग्य बस्तुको आयात ३५.४ प्रतिशत रहेका राष्ट्र बैंकको तथ्यांकले जनाएको छ ।
वि.सं.२०७८ माघ २६ बुधवार १६:५२ मा प्रकाशित