back
NMB ad

दूधमा आत्मनिर्भर बनाउन ‘दुग्ध मिसन कार्यक्रम’: किसानलाई १३ ओटा भैँसी वितरण

Kumari bank ad

भोजपुर । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘दुग्ध मिसन कार्यक्रम’ ल्याएको छ । स्थानीय पशुपालक किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई १३ वटा उन्नत जातका राँगो वितरण गरेको छ । गाउँपालिकाले पौवादुङमा दुई, तिवारीभञ्याङस्थित प्रगतिशील सहकारीमार्फत रु १६ लाखको लागतमा नौ लैनो भैंसी र एउटा राँगो, चारओटा च्यापकटर र पिठो चोकर किसानलाई वितरण गरेको हो ।

त्यस्तै वडा नं ५ स्थित सानो दुम्ममा रहेको खड्का कृषि तथा पशुपालन फार्मलाई रु तीन लाख ९४ हजार बराबरको तीन भैँसी, एउटा राँगो र च्यापकटर तथा उन्नत जातको घाँसको बीउसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले ‘दुग्ध मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

त्यस्तै बालबच्चा तथा वृद्धवृद्धालाई पोषणसँग जोड्दै पाउडर दूधको प्रयोग घटाउन पनि यसले टेवा पुग्ने उहाँको भनाइ थियो । अध्यक्ष राईले भन्नुभयो,‘‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्षले काम गरिरहेका छौँ । त्योसँगै स्थानीय नागरिकले पोषणयुक्त दूध उपभोग गर्न पाउन भन्ने पनि हो । दूध उत्पादन वृद्धि गरेर यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि किसानको माग बमोजिम भैँसी वितरण गरेका हौँ ।

यो कार्यक्रमलाई आगमी दिनमा पनि विस्तार गर्दै लैजान्छौँ । दूध उत्पादनको आधारमा बजारीकरणमा पनि सहजीकरण गरिने जानकारी दिँदै उहाँले गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताउनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भइरहेको अध्यक्ष राईको भनाइ थियो ।

‘‘हाम्रो गाउँपालिकामा धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भू बनोट छन् । रोजगारीका लागि युवा शक्ति विदेश जाँदा कतिपय खेतीयोग्य भूमि बाँझो बन्दै गएका छन्, उहाँले भन्नुभयो,‘‘ युवाशक्तिलाई यहाँ नै कसरी उद्यममा जोड्न सकिन्छ भनेर नै युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ । खास गरेर बाँझो जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्नेलाई पनि हामीले प्रोत्साहनस्वरुप विभिन्न खाले सहयोग गरिरहेका छौँ । यस्ता खालका बालीबाट नतिजा आउन अलि समय लाग्छ’’, अध्यक्ष राईले भन्नुभयो । गाउँपालिकाले कृषिमा बहुवर्षीय बालीमा (एभोकाडो, किबी, चिउरी) मा पनि प्राथमिकताका साथ काम गरिरहेको छ ।

त्यस्तै तरकारीको खेतीमा पनि किसानलाई सहयोग गरिरहेकाले गाउँपालिका तरकारीमा आत्मनिर्भर बनिसकेको छ । यहाँको उत्पादन अहिले अन्य ठाउँमासमेत जान थालेको छ । अब भने हामीले तरकारीसँगसँगै पछिल्लो वर्षमा आएर किसानलाई बहुवर्षीय बाली लगाउन केन्द्रित गरिरहेका छौँ । यस्ता बालीबाट उनीहरुले धेरै वर्षसम्म आम्दानी लिन सक्ने उहाँले जानकारी गराउनुभयो ।

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत साझेदारीमा भैँसी पाल्न दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘हामीले किसानलाई दुग्ध उत्पादनमा जोड्नका लागि ७५ प्रतिशत अनुदानमा भैँसी दिएका छौँ । खास गरेर बजारमा भैँसीको दूधको माग र मूल्य पनि बढी हुन्छ । त्योसँगै उनीहरुले पाडापाडी बेचेर पनि थप आम्दानी लिन सक्छन् । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सकुन भन्ने हाम्रो लक्ष्य हो ।’’

गाउँपालिकाले उन्नत जातको भैँसी दिएपछि किसान उत्साहित भएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी रहेको स्थानीय भैँसीपालक किसान नवीन खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘गाउँपालिकाले हामीजस्ता किसानलाई लक्ष गरेर कार्यक्रम ल्याएको देख्दा खुुसी लागेको छ । गरिब तथा विपन्न परिवारले त अहिले भैँसी किनेर पाल्न सक्ने अवस्था नै छैन । हामी आफैले तराईका भैँसी फार्ममा गएर छानेर ल्याएका छौँ । त्यस्ता किसानको पीडालाई बुझेर गाउँपालिकाले गरिरहेको काम प्रशंसायोग्य छ । अन्य स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’’

लैनो भैँसी पाएकाले आफ्नो जीविकोपार्जनमा प्रत्यक्ष लाभ पुगेको अर्का किसान सुुवास अधिकारीले बताउनुभयो । तराईबाट ल्याइएको उन्नत जातको भैँसी भए पनि यहाँको हावापानीमा सहजरुपमा नै घुलमिल भएको उहाँको भनाइ थियो । भैँसीबाट उत्पादन भएको दूध बजारमा बेच्न थालिएको छ ।

किसान अधिकारीले भन्नुभयो,‘‘ गाउँपालिकाले हामीजस्ता किसानको उद्धार गरेको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको किसानलाई प्रोत्साहन गर्ने खालको यो कार्यक्रमले हामीलाई प्रत्यक्ष लाभ पुगेको छ । सहकारीमार्फत भएको काम भए पनि हामी आफै भैँसी छान्नको लागि गयौँ । आफैले भैँसी छानेर किन्न पाउदा खुसी लाग्यो । दूध बेचेर आफ्नो आर्थिक उपार्जनमा सहयोग पुगेको छ । अहिले आठ कुरुवा दूध दैनिक उत्पादन भइरहेको छ ।’’

उत्पादन भएको दूध स्थानीय बजारमा तथा तिवारीभञ्याङमा रहेको डेरीमा प्रतिलिटर रु ५५ मा बिक्री गरिरहेको किसान अधिकारीले बताउनुभयो । आफ्नो ठाउँका किसानबाट सङ्कलन भएको दूध भोजपुर सदरमुकाममा जाने गरेको उहाँको भनाइ थियो । किसान अधिकारीले भन्नुभयो,‘‘हामीले स्थानीय डेरीमा बिक्री गरिरहेका छौँ । यहाँ प्रतिलिटर रु। ५५ पाउछौँ । यसले दैनिक जीवन गुजारा गर्न सहज भएको छ । यहाँ खपत हुन नसकेको दूध सदरमुकाम जान्छ ।’’

त्यस्तै गाउँपालिकाले बाख्रापालनका लागि पनि उन्नत जातको बोका वितरण गरिरहेको जनाएको छ । खास गरेर गाउँपालिकाले वडानं ४को बस्तीम, ५ सानोदुम्मा र ६ को ठुलोदुम्मालाई बाख्रापालनका लागि उपयुक्त क्षेत्रको रुपमा छुट्याइएको छ । तातो तथा प्रशस्त चरण क्षेत्र भएकाले यो क्षेत्रमा व्यवसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई पनि आवश्यकताको आधारमा प्रोत्साहनमूलक कार्यक्रम गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘अन्य क्षेत्रजस्तै हामीले पशुपालनको लागि क्षेत्र निर्धारण गरेका छौँ । खास गरेर व्यावसायिक बाख्रापालनका लागि गर्मी स्थान अलि उपयुक्त हुने भएकाले तल्लो क्षेत्रमा हामीले बाख्रापालनका लागि प्रोत्साहन गर्दै आएका छौँ ।’’रासस

वि.सं.२०७९ असार २१ मंगलवार १३:४६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...