
काठमाडौ। उद्योग मन्त्री नविन्द्रराज जोशीले बन्द रहेका उद्योगहरु संचालनमा ल्याउने भनेर पटक पटक भन्दै आएका छन । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेपछि पनि मन्त्री जोशीले त्यसै भने । उनले भने, २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त लगानीमा पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
त्यसैगरी २०६६ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने र वीरगन्ज चिनी कारखाना खुला प्रतिस्पर्धाबाट निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिने तयारी भइरहेको मन्त्री जोशीले जानकारी दिए ।
विसं २०६१ भदौदेखि बन्द रहेको वीरगन्ज चिनी कारखानामा कार्यरत अधिकांश कर्मचारी तथा मजदुर अवकाशमा गइसकेका छन् भने १९३ जनाले रकम नलिएर अदालत गएका छन् ।
“मन्त्रालयले गोरखकाली रबर उद्योग र नेपाल ओरियण्ट म्याग्नेसाइट उद्योग सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ, त्यसका लागि दुई साताभित्रमा मन्त्रालयले कार्ययोजना सार्वजनिक गर्नेछ”–मन्त्री जोशीले भने ।
प्रकाशित मितिः २०७३ कार्तिक ११
वि.सं.२०७३ कात्तिक ११ बिहीवार १८:११ मा प्रकाशित